फुटपाथका तरकारी पसले र रिक्सा चालकलाई निशुल्क मास्क र सेनिटाइजर
वीरगन्ज : बजारमा व्यपारीले मास्क र सेनिटाइजरको कालोबजारी गर्न कृत्रिम अभाव सृजना गरेको गुनासो आएपछि प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आइतबार वीरगन्जमा निशुल्क सर्जिकल मास्क र सेनिटाइजर वितरण गरेका छन् ।
पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले सडकपेटी र तरकारी बजारका खुद्रा व्यपारी र रिक्सा चालकलाई २ हजार थान सर्जिकल मास्क र ५ सय बोतल सेनिटाइजर बाडेका हुन् ।
वीरगन्ज माइस्थानको गहवामाई मन्दिरदेखि मिनाबजारसम्मको सडकपेटीमा तरकारी फलफुल पसल थापेका खुद्रा व्यपारी र रिक्सा चालकलाई सांसद यादवले मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

'अहिले बजारमा मास्क र सेनिटाइजर दुवैको चरम अभाव भएकाले सर्वसाधरण जनताले पाउन सकेका छैनन् , त्यसमा पनि सागसब्ज तरकारी बेचेर रोजीरोटी चलाउने गरिब र रिक्सा चलाउनेसँग त त्यति पैसा पनि हुँदैन', उनले भने, ‘विपन्न र गरिबहरू पनि कोरोनाबाट बचुन् भनेर एक-एक थान मास्क र सेनिटाइजर बाडेको हुँ।'
माक्स र सेनिटाइजर वितरण गर्ने क्रममा सांसद यादवसँगै जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, नगर अध्यक्ष ईश्वर यादवको पनि सहभागिता थियो ।
यस्तै जिपी कोइरला फाउण्डेशनले पनि आइतबार वीरगन्जमा सर्वसाधरण र सवारी चालकलाई निशुल्क मास्क वितरण गरेको छ ।
वीरगन्जको आदर्शनगरदेखि घण्टाघर चोकसम्मको मुख्य सडकमा बिहान फाण्डेशनका पदाधिकारी र सदस्यले मास्क वितरण गर्नुका साथै पैदल यात्री र सवारी चालकलाई सेनिटाइजरले हात धुने तरिका पनि सिकाएका थिए ।

प्रतिक्रिया दिनुहोस !