इलाका प्रशासन कार्यालयको सेवा ठप्प

इलाका प्रशासन कार्यालयको सेवा ठप्प

वीरगन्ज : पर्साको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सुपौलीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह दुई महिनादेखि ठप्प छ। शाखा अधिकृत नहुँदा कार्यालयमा आउने सेवाग्राही फर्किन बाध्य छन्।

जिल्लाका जीराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गरि ४ गाँउपालिका कार्यक्षेत्र तोकेर सुपौलीमा एक वर्षअघि इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो। तर, कार्यालयमा गत पुष मसान्तदेखि नै शाखा अधिकृत नहुँदा चार गाँउपालिकाका स्थानीयले सेवा पाएका छैनन्।

कर्मचारी समायोजनका क्रममा तत्कालीन शाखा अधिकृत विनय श्रीवास्तव अन्यत्रै सरुवा भएपछि कार्यालयबाट कुनै पनि काम भएको छैन। श्रीवास्तव गएपछि गृह मन्त्रालयले शाखा अधिकृत कुन्दन कर्णलाई पठाएको थियो। तर, उनी हालसम्म कार्यालयमा हाजिर भएका छैनन्। कार्यालयमा पुस मसान्तदेखि करार सेवामा एकजना सुब्बा, एक कम्प्युटर सहायक र एक कार्यालय सहयोगी छन्।

शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम दुई महिनादेखि रोकिएको छ। सुपौलीको इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउनका लागि मात्रै दैनिक ५० भन्दा बढी सेवाग्राही आउँछन्। तर, अहिले कार्यरत कर्मचारीले शाखा अधिकृत नहुँदा काम नभएको बताएका छन्।

एक सातादेखि नागरिकता बनाउन प्रशासन धाए पनि काम नभएको ठोरी नयाँबस्तीकी मनिसा बोहोराले बताइन्। भान्जाको नागरिकता बनाउन सोमबार कार्यालयमा पुगेका महादेवपट्टीका सत्यराज घिमिरेले पनि १५ दिनदेखि कार्यालय आउँदा पनि काम नभएको गुनासो गरे। ‘केही दिनमै अधिकृत आउँछन् भन्दै कर्मचारीले टारीरहेका छन्,’ उनले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा पनि कुनै सुनुवाइ भएन।’

यहाँका नागरिकले इलाका प्रशासनबाटै नागरिकतालगायतका काम गर्नुपर्ने बाध्यकारी छ। ‘वंशजको नागरिता लिन जिल्ला जान पाइँदैन। यहाँ कर्मचारी छैनन्,’ घिमिरेले भने। लामो समयदेखि कर्मचारी नहुँदा नागरिकता बन्न नसकेको आक्रोशमा दुई युवकले कार्यालय तोडफोड ने गरेका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने मन्त्रालयले एक महिना पहिले नै शाखा अधिकृत कुन्दन कर्णलाई सुपौलीमा पठाएको तर उनी किन आएनन् भन्ने जानकारी नभएको बताए।

‘अहिले म काठमाडौंमै छु, मन्त्रालयमा गएर बुझ्दा कर्ण एक साताअघि नै रमाना लिएर कार्यक्षेत्र हिँडेको जानकारी पाएँ,’ कार्कीले भने, ‘बुधबारसम्म उनी आएनन् भने, अर्को कर्मचारी भए पनि काम गर्न पठाउँछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.