नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन

नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन

काठमाडौं : विदेशका नेपालीमा कोभिड-१९ संक्रमण देखिन थालेपछि सरकारले नेपाली दूतावासलाई उनीहरूको उपचारमा ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग समन्वय गरी तत्काल उचित उपचारको व्यवस्थापनमा लाग्न पनि दूतावासहरूलाई भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकामा दुई, पोर्चुगलमा तीन, बहराइनमा तीन र यूएईमा दुई नेपालीमा संक्रमण देखिएको छ। ‘राजदूतावासलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सबै सहयोग पुर्‍याउन र स्थितिको आकलन गर्न निर्देशन दिइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

सरकारले यसअघि आफ्ना नागरिकलाई सुरक्षित बनाउन र जानकारीमूलक सन्देश प्रवाह गर्न भनेको थियो।

पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावास र अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासलाई संक्रमितको उपचारमा समन्वय गर्न निर्देशन दिइएको परराष्ट्र अधिकारीले जानकारी दिए। नेपाली दूतावासले गैरआवासीय नेपाली संघका प्रतिनिधि र अन्य विभिन्न सञ्जालमार्फत पनि नेपालीको अवस्था बुझिरहेको छ। स्पेनस्थित नेपाली दूतावास, इटाली हेर्ने जेनेभास्थित नेपाली नियोगलाई सरकारले त्यहाँको नेपालीको अवस्थाबारे दैनिक जानकारी मागेको परराष्ट्र अधिकारीको भनाइ छ। बेलायतमा एक नेपालीको निधन कोभिड—१९ बाट भए÷नभएको विषयमा पनि छलफल भइरहेको ती अधिकारीले बताए।

परराष्ट्रसचिव शंकरदास वैरागीले सबै दूतावाससँग मन्त्रालय नियमित सम्पर्कमा रहेको र त्यहाँका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको बताए। ‘हामीले त्यहाँका आफ्ना नागरिकलाई कुनै प्रकारको कमजोरी हुन नपाओस् भनेर दूतावासलाई समन्वय गर्न भनेका छौं’, उनले भने, ‘दूतावासले पनि दैनिक आफ्ना सूचना यता पठाइरहेका छन्। दूतावासले गैरआवासीय नेपाली र त्यहाँको विदेशी समन्वय डेस्कसँग सहकार्य गरिरहेका छन्।’

उनका अनुसार सबै राजदूत सम्बन्धित मुलुकमै रहेर त्यहाँको सरकारसँग सहकार्य गरिरहेका छन्। ‘जापानको राजदूत छुट्टीमा हुनुहुन्छ भने दक्षिण कोरिया, दक्षिण अफ्रिकामा केही समयदेखि कार्यवाहकले चलाइरहनुभएको छ’, उनले भने। चीनबाट लीलामणि पौड्याल फर्किसकेकाले त्यहाँ पनि कार्यवाहक राजदूतले नै सबै कार्य गरिरहेका छन्।

पोर्चुगलको फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोग गर्न सरकारले निर्देशन दिएको छ। राजदूत दीपक अधिकारीले पनि उनीहरूको अवस्थाबारे आफूले फोनमार्फत जानकारी लिइरहेको, त्यहाँका अवैतनिक नेपाली दूतावासलाई निर्देशन दिएको बताए।

क्वारेन्टाइनमा ४९ नेपाली रहेको पुष्टि भएको छ। नेपालीलाई आवश्यक सहयोग जुटाउन कुनै कसर बाँकी नराख्ने दूतावासले जनाइसकेको छ।

जेनेभास्थित नियोग प्रमुख मणि भट्टराईले आफू लगातार नेपालीसँग सम्पर्कमा रहेको र समस्या परेकालाई समाधानको बाटो सुझाउँदै आएको जानकारी दिए। त्यहाँका नेपालीमा कोभिड-१९ कोे संक्रमण देखिएको छैन।

व्यवसाय बन्द भएपछि खानालाई समस्या परेपछि खाद्यान्न आपूर्ति मिलाउनेलगायतको व्यवस्था मिलाउन राजदूतहरू क्रियाशील छन्।

राजदूतावासले कोरोना फैलिएको मुलुकमा त्यहाँको सरकारको सूचनालाई सर्वोपरी ठानेर सुरक्षित हुन र घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्। संक्रमण फैलिएपछि विभिन्न मुलुकमा रहेका नेपाली दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनका नेपालीको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पुर्‍याइदिन सम्बन्धित निकायलाई पत्राचार गरेका छन्।

ईयूका लागि नेपाली राजदूत लोकबहादुर थापाले पनि नेपालीसँग सम्पर्कमा रहेर काम गरिरहेको जानकारी दिए। ‘घरभित्रै बसेका नेपालीसँग सम्पर्क गरी अवस्था बुझ्ने काम भइरहेको छ’, उनले भने।

स्पेनका नियोग उपप्रमुख हरिहरकान्त पौडेलले सबैलाई सतर्क रहेर निर्देशन फलो गर्न आग्रह गरिएको बताए। भने, ‘घरमा बसेर काम गरिरहेका छौं।’

स्पेनकै जस्तै अवस्था अस्ट्रेलिया, बेलायत, जर्मनी तथा डेनमार्कमा पनि छ। नेपाली समुदायमा आइपर्ने स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि हरेक मुलुकका दूतावासले २४ सै घण्टा सम्पर्कका लागि फोन नम्बरहरू सार्वजनिक गरेका छन्।

कतिपय मुलुकमा सरकारले ‘आपत्कालीन’ घोषणा गरिसकेका छन्। खाडी मुलुकमा रहेका राजदूत पनि बहुसंख्यक नेपालीको सम्पर्कमा छन्। खाडीमा रहेका नेपालीले सरकारको निर्देशन नमान्दा समस्या आएकाले त्यहाँको सरकारले तोकेको स्थानमा बस्न र काम गर्न आग्रह गरिएको दूतावासले जानाएको छ।

दूतावासहरूले आफ्ना नागरिकलाई हात धुन, नजिक नजान र धेरै नडराउन सुझाइरहेका छन्।

कतारबाट नेपाली फर्काइएको विषयमा दूतावासले चासो दिँदै बुझेको थियो। साइप्रसका नेपाली पनि समस्यामा रहेको भन्दै बुझ्न इजरायलस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको छ। साइप्रसमा नेपाली गैरभिसामा पनि बस्छन्।

छिमेकी भारतमा रहेको दूतावासले पनि सीमा समन्वयदेखि समस्यामा परेका नेपालीलाई सम्पर्क र समन्वय गर्न निर्देशन दिएको छ।

जापानका लागि राजदूत राणा काठमाडौंमा

जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तीन सातादेखि काठमाडौंमा छिन्। व्यक्तिगत काममा काठमाडौं आएकी उनी जापान नफर्की यतै बसेकी हुन्। उनले परराष्ट्र मन्त्रालयलाई आफू अस्वस्थ भएको कारण जापान फर्किन ढिलाइ भएको जानकारी दिएको परराष्ट्र अधिकारीले बताए। जापानमा पनि संकट बढ्दै गएको छ। नेपाली त्रसित रहेको अवस्थामा राजदूतै नभएको भन्दै नेपालीले गुनासो गरिरहेका छन्।

दक्षिण कोरियामा कार्यवाहकले समन्वय गर्न समस्या भइरहेको छ। परराष्ट्रसचिव वैरागीले जापानका लागि नेपाली राजदूत अस्वस्थ भएकाले काठमाडौंमा रहेको जानकारी दिए।

खाडीका नेपालीबारे भिडियो कन्फरेन्स

 खाडीका नेपाली कामदारको अवस्थाबारे त्यहाँका राजदूतसँग परराष्ट्र र श्रममन्त्रीले संयुक्त रूपमा भिडियो कन्फरेन्स गरी पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। नेपाली अधिक रहेको क्षेत्रमा कोभिड-१९ मा अपनाउनुपर्ने सुरक्षा उपायबारे छलफल भएको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसँग खाडी क्षेत्रका सबै राजदूतले सोमबार छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूले त्यहाँ रहेका नेपालीको दैनिकी कसरी अघि बढेको छ, उनीहरूलाई आएको समस्याबारे अग्रसर भएर समाधानतर्फ लाग्न मन्त्रीद्वयले सुझाएका छन्।

भिडियो कन्फरेन्समा साउदी अरेबिया, यूएई, कतार, ओमान, इजिप्ट, बहराइन, इजरायलका राजदूत र दक्षिण आफ्रिकाका कार्यवाहक राजदूत सहभागी भएका थिए। दक्षिण अफ्रिकामा लामो समयदेखि राजदूत नियुक्त भएको छैन।

खाडीको पछिल्लो अवस्था, कोभिड-१९ को फैलिँदो त्रास र नियन्त्रणका लागि गरेको पहलबारे छलफल भएको थियो। ती मुलुकले नेपाली कामदारलाई गरेको व्यवस्था र नेपालीको धारणालगायत विषयमा छलफल भएको थियो। नेपाली नियोगले चालेका कदम तथा भविष्यमा अवलम्बन गर्नुपर्ने उपायबारे पनि छलफल भएको थियो।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.