कोरोना भाइरस संक्रमित पुष्टि गर्न नमुना काठमाडौं पठाइयो
रुकुम : तीन दिनअघि भारतको केरालाबाट फर्केका रुकुम पश्चिमका एक युवामा कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ । जिल्लाको आठविसकोट नगरपालिकाका २० वर्षीय एक युवामा कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो ।
ती युवामा कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्नका लागि नमुना संकल गरेर काठमाडौं पठाइएको जिल्ला अस्पताल सल्लेका निमित्त प्रमुख डाक्टर राजकुमार भुजेलले जानकारी दिए । उनकाअनुसार ती युवालाई अहिले सदरमुकाम खलंगामा रहेको मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
भारतबाट घर पुगेदेखि उनलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने, टाउको दुख्नेलगायतका समस्या भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । जिल्ला अस्पतालमा कोरोना भाइरस परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री नहुँदा पुष्टि गर्न समस्या भएको डाक्टर भुजेलको भनाइ छ ।
जिल्लामा भारत तथा विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । जिल्लामा रहेका स्थानीय तह र प्रहरीको सहभागितामा भारत तथा विदेशबाट आएका व्यक्तिको पहिचान गरेर तथ्यांक संकलन गरी उनीहरुको अवस्थाको बारेमा समेत जानकारी लिनेगरिएको उनले बताए।