औषधि पसलमा प्रशासनको छापा, कालोबजारी गर्नेलाई २० हजार जरिवाना
वीरगन्ज : वीरगन्जमा ग्लोब्सको कालाबजारी गर्ने एक औषधि पसलमा स्थानीय प्रशासनले बिहीबार छापा मारेर २० हजार रुपैयाँ जरिवाना तिराएको छ । घण्टाघर छेउमै रहेको सुरेश मेकिडल हलमा स्थानीय प्रशासन र वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालयको टोलीले बुधबार छापा मारेर पसलका संचालक सुरेश गुप्तालाई २० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
बिहीबार बिहान औषधि पसलमा ग्लोब्स किन्न गएका एक ग्राहकलाई पसले गुप्ताले ३५ रुपैयाँ मुल्य पर्ने ग्लोब्स ५० रुपैयाँमा बिक्री गरेका थिए । ५० रुपैयाँमा ग्लोब्स किनेका ती ग्राहकले वीरगन्जकै मिना बजारको तरकारी बजारमा अनुगमन गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतलाई भेटेर गुनासो गरेका थिए ।
त्यसलगत्तै उक्त औषधि पसलमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ग्लोब्सको मुल्य सोध्दा पसले गुप्ताले ३५ रुपैयाँ मात्रै पर्ने बताएपछि उनलाइ २० हजार रुपैयाँ जरिवाना तिराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता समन्वय कार्यालय वीरगन्जका प्रमुख जीतबहादु्र श्रेष्ठले जानकारी दिए ।
आइन्दा फेरि बढी मुल्यमा बिक्री गरेको भेटिएमा पसल नै सिल गर्ने चेतावनि पनि पसले गुप्तालाई दिइएको श्रेष्ठले बताए । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बिहीबार तरकारी बजारमा पनि अनुगमन गरेर हरेक तरकारी पसलमा मुल्य सुची राख्न निर्देशन दिइएको जानकारी दिए ।
अनुगमनका क्रममा तरकारी पसलेलाई बढी मुल्यमा तरकारी नबेच्न सचेत गराउँदै बढी मुल्यमा तरकारी बेचेको पाइए कालाबजारी ऐन अन्तर्गत कारबाही गर्ने चेतावनी पनि दिइएको बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस !