गाउँका सडकमा नागरिकको ढाट
इलाम/ ताप्लेजुङ : इलाम र ताप्लेजुङका स्थानीयले ग्रामीण सडकमा लकडाउनका समयमा पनि सवारी गुड्न नरोकिएपछि ग्रामीण सडकमा ढाट राखेर बाटो बन्द गर्न सुरु गरेका छन्।
विदेशबाट आएका नागरिकको गाउँमा चहलपहल बढेपछि स्थानीयले गाउँमा ढाट लगाएर आवतजावत रोकेका हुन्। कोभिड १९ संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका इलाम नगरपालिका ४ मलातेका एक युवा घरमै क्वारेन्टाइनमा बस्न थालेका छन्। अस्पतालले स्वास्थ्य अवस्था सामान्य भनेपछि उनी घरमै क्वारेन्टाइनमा बसेका हुन्।
सन्दकपुर ३ का मलेसियाबाट आएका युवा र उनकी आमालाई इलाम अस्पतालले कोसी अञ्चल अस्पताल रिफर गरेपछि स्थानीय आफैंले ग्रामीण सडकमा निगरानी बढाएका हुन्।
लाकडाउनको समयमा दैनिक ६० भन्दा बढी मोटरसाइकल कुद्न थालेपछि इलाम नगरपालिका ८ विभिन्न नाकामा ढाट राखेको स्थानीय रमेश भट्टराईले बताए। इलाममा बिहीबार सम्ममा भारतबाट आएका ६२ जनालाई स्थानीय सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा राखिएको छ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्ने सडकमा ढाट लगाएर बाहिरका मानिसलाई रोक लगाएको छ। वडा नं १ को खोक्से, वडा नं ६ को चिउरीगोलाई र वडा नं ५ को चाक्सिबोटेमा ढाट लगाइएको हो। ‘मेची राजमार्ग बन्द भएपछि जिल्लाको पूर्वी भेगमा मान्छेले गाउँको सडक प्रयोग गर्न थाले’, गाउँपालिका प्रमुख केशरकुमार सुब्बाले भने, ‘सम्झाउँदा समेत नमानेपछि सडक बन्द गर्न बाध्य भयौं।’
जनप्रतिनिधि, प्रहरी र स्थानीय मिलेर बाँस र काठको प्रयोग गरी तगारो बनाइएको उनले सुनाए। गाउँका मानिसलाई सम्झाउन निकै कठिन रहेको सुब्बा बताउँछन्। ‘यस्तो अवस्थामा बाहिर नहिँड भन्दा मान्दैनन्, केही हुँदैन भन्दै उल्टै हामीलाई नै सिकाउँछन्’, उनले भने।
भारतसँग सीमा जोडिएको सिदिङ्वा गाउँपालिकाले पनि प्रवेशद्धारमा ढाट लगाउने भएको छ। ‘सीमाक्षेत्रका वडाध्यक्ष र प्रहरी चौकीको सक्रियतामा नाकामा निगरानी गरिरहेका छौं’, गाउँपालिका प्रमुख नरबहादुर कडरियाले भने, ‘चौबिसै घण्टा रुँघेर सम्भव नहुने भयो, बअ बाटै बन्द गर्छौं।’