आइसोलेसन वार्डबाटै बिरामी फरार
उदयपुर : कोरोना भाइरस संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एक जना बिरामी भागेका छन् । गत चैत १२ गते भारतको सिलगुढीहुँदै कटारी आएका ताप्लि गाउँपालिकाका ३८ वर्षीय कृतिमान मगराती शनिबार फरार भएका हुन्।
उनीसँगै आएका अन्य २० जनालाई नेपाली सेनाको १८ नम्बर बाहिनीअन्र्तगतको रणशार्दुल गण वेलस्रोत सुरक्षा वेस क्याम्पको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जानकारी दिए । स्वास्थ्य परीक्षण गर्दा ९९ डिग्री ज्वरो आएका मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए ।
अस्पतालको आइसोलेसन राखिएका मगराती खाना खानुअघि नै झोला र मोबाइल बेड मै छोडेर भागेको सूचना अधिकारी राइनले बताए । मगरातीको पछिल्लो स्वास्थ्य अवस्थामा क्रमश सुधार हुँदै आएको थियो । मगराती साथीसँगै क्वारेन्टाइनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ ।
सुरुमा साथीसँगै क्वाराइन्टेमा पठाइएकोमा त्यहाँ ज्वारो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । अस्पतालबाट भागेका मगरातीको खोजी भइरहेको छ । उनी परिवार र क्वारेन्टाइनमा रहेका साथीको समेत सम्पर्कमा नभएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी प्रेमसागर केसीले बताए ।