दुई चार्टर विमानबाट फर्किए ईयूका नागरिक
काठमाडौं : युरोपेली महासंघ (ईयू) सम्वद्ध र आसपासका मुलुकले आफ्ना नागरिकलाई नेपालबाट घर फर्काएका छन्। जर्मनी दूतावासको अग्रसरतामा शनिबार उनीहरु घर फर्कन पाएका हुन्।
कतार एयरलाइन्समा दुई विमानमा जर्मनीका चार सय र अन्य ईयू नागरिक १ सय ८५ र ईयू आसपासका अन्य १५ नागरिक गरी ६ सयले पर्यटकले काठमाडौं छाडेको ज्ञानेश्वरस्थित जर्मनी दूतावासले जनाएको छ।
फर्कनेमा फिनल्याण्ड, अस्ट्रिया, नर्वे, स्वीटजरल्यान्ड, पोल्याण्ड, युके र डेनमार्क लगायतका छन्। ईयूमा आवद्ध नभएका मुलुक र भर्खरै आवद्धता तोडेको बेलायती नागरिक पनि स्वदेश फर्केका छन्।
युरोपमा रहेका नेपालीलाई ध्यान दिन त्यहाँको सरकारलाई नेपालले आग्रह गरेको छ। ईयूको प्रयासमा नेपालले सहयोग गरी उनीहरु स्वदेश फर्कन सफल भएका हुन्। जर्मनी दूतावासले ६ सय फर्केको भने पनि विमानस्थलका अधिकारीले फर्कनेको संख्या ६ सय ८ पर्यटक रहेको जनाएका छन्। उनीहरु चार्टर उडानमा फर्केका हुन्।
कतार एयरवेजको उडान नम्बर ७७८२ बाट ३ सय ३ पर्यटक र ३४६८ बाट ३ सय ५ जना युरोप फर्किएका हुन्। शनिबार बिहान ११ः४५ बजे र दिउसो १२ः४५ बजेको चार्टर उडानबाट फर्केका हुन्।
ईयूका नागरिक नेपालमा पदयात्राका आएकाले हिमाली क्षेत्रमा अलपत्र परेका थिए। केही काठमाडौंमै थिए। शुक्रबार पनि कतार एयरवेजबाट ३ सय ७ पर्यटक युरोप फर्केका थिए।
जर्मन दूतावासले करिब २ सय नागरिक अझै नेपालमै रहेको जनाउँदै उनीहरुको पनि फिर्ता प्रक्रिया सुरु हुने उल्लेख गरेको छ। स्वदेश फर्केका ती पर्यटक ठमेल, बौद्ध र सानेपाका होटलमा बसेका थिए। नेपालले आफ्ना नागरिकलाई घर फर्काउन गरेको पहलप्रति जर्मनी सरकारलाई धन्यवाद दिएको छ। जर्मनीमा रहेको आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिन नेपालले आग्रह गरेको छ।
इटाली, स्पेन, जर्मनी, बेल्जियम, स्वीटजरल्यान्ड, अस्ट्रिया, डेनमार्क, फ्रान्स, पोर्चुगलमा रहेका नेपाली कोभिड–१९को त्रासमा छन्।
अस्ट्रेलियामा सात नेपाली संक्रमित
यसैबीच अस्ट्रेलियामा रहेका नेपालीमा पनि त्रास उस्तै छ। अस्ट्रेलियामा सात जनामा संक्रमण भएको देखिएपछि उनीहरुमा त्रास बढेको हो। अस्ट्रेलियाका लागि राजदूत महेशराज दाहालले अस्ट्रेलियामा सातजनामा संक्रमण भएको जानकारी आएको र उनीहरुसँग दूतावास सम्पर्कमा रहेर बताए।
सिड्नीको ग्रानभिलमा यसअघि नै एक जना नेपाली युवतीमा कोरोना देखिएको थियो। उनीसँगै रहने तीनलाई परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनीहरुलाई अपार्टमेन्टमा आइसोलेसनमा राखिएको छ। ‘उनीहरूको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिइरहेका छौं। उनीहरूको उपचार भइरहेको छ’, राजदूत दाहालले भने।
मेलवर्नमा एकै परिवारका तीन नेपालीमा संक्रमण पुष्टि भएको छ। यहाँका नेपालीलाई सतर्क रहन भनिएको छ।
विद्यालय कलेज र सार्वजनिक यतायात चलिरहेकाले त्यहाँ थप संक्रमण हुन सक्ने भन्दै यसतर्फ सचेत हुन आग्रह गरिएको छ। नेपालीमा अहिले जागिरको समस्या पनि देखिन थालेको छ।
प्रतिक्रिया दिनुहोस !