लकडाउनमा अनलाइन कक्षा, शिक्षकले घरबाटै पढाउँदै
वीरगन्ज : कोरोना संक्रमणबाट जोगीन देशभरका विद्यालय र क्याम्पस चैत ५ गतेबाट बन्द छन्। चैत ११ देखि लकडाउन भएपछि विद्यार्थीहरु घरभित्रै बस्न बाध्य भएका छन्। यसरी २ सातादेखि विद्यालय जान नपाइ घर भित्र बस्न बाध्य विद्यार्थीले आफ्नै घरमा पढ्न पाउनेगरी वीरगन्जको डीएभी आरबी केसडिया स्कुलले फेसबुक लाइभ कक्षा सुरु गरेको छ ।
डीएभी आरबी केडिया स्कुलका शिक्षकले सोमबारदेखि मोबाइल, ल्यापटप वा कम्युटरमा पढ्न मिल्ने गरी फेसबुक लाइभ कक्षा सुरु गरेका हुन् । हरेक दिन बिहान १० देखि दिउँसो ३ बजेसम्म फेसबुक लाइभ कक्षा संचालन गरिएको स्कुलका प्राचार्य त्रिदेव उपाध्यायले बताए ।
दैनिक १० देखि ३ बजेसम्म फेसबुक लाइभ गरेर आठवटा कक्षा संचालन गरी श्रव्यदृश्यमार्फत विधार्थीलाई पढाउन थालिएको प्राचार्य उपाध्यायले बताए । 'शिक्षकले फेसबुक लाइभबाट २० मिनेट पढाउँछन्। त्यसपछि १० मिनेट शिक्षक र विद्यार्थीबीच फेसबुक लाइभबाटै दोहोरो संवाद हुन्छ,' उपाध्यायले भने, 'शिक्षकले गृहकार्य पनि दिन्छन्, विधार्थीले गृहकार्य गरेर ह्वाट्सअपबाट चेक गर्छन् ।
लकडाउनको अवधि थपिदै गइरहेका कारण घरभित्र बस्न बाध्य विधार्थी शिक्षाबाट बंचित नहोउन् भन्ने उद्येश्यले फेसबुक लाइभ कक्षा संचालन गरिएको उनले बताए । उनले डीएभी आरबी केडिया स्कुलका मात्र नभइ पुरै वीरगन्जका विधार्थीलाई लक्षित गरेर फेसबुक लाइभ संचालन गरिएको पनि उनले बताए ।
यो अभ्यास नेपालमै पहिलो पटक डीएभी आरबी केडिया स्कुलले संचालन गरेको दाबी पनि उनले गरे । सोमबार एकै पटक ४ सय २८ विधार्थीले फेसबुक लाइभ कक्षामा जोडिएको भन्दै उनले भने, 'मङगलबार बिहान ११ बजे सम्म यो फेसबुक लाइभ कक्षामा ३ हजार १ सय विधार्थी जोडिए।'
विधार्थी र अभिभावकबाट पनि धेरै राम्रो रेस्पोन्स पाइरहेको उनले बताए।बुधबार वा बिहीबारदेखि गुगल क्लास रुम पनि संचालन गर्ने तयारी रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !