कोरोना नियन्त्रण : भारतबाट फर्केका ३१० जना क्वारेन्टाइनमा
बैतडी : भारतबाट फर्केका नागरिकलाई बैतडीका विभिन्न स्थानीय तहले क्वारेन्टाइनमा राखेको छ । भारतबाट फर्केकामा कोरोना संक्रमणको जोखिम हुन सक्ने भन्दै उनीहरुलाई क्वारेन्टाइनमा राखिएको पालिकाले जनाएका छन् ।
विभिन्न स्थानीय तहमा आएका ३ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'भारतका विभिन्न ठाउँबाट नेपाल आएका नागरिकलाई विभिन्न पालिकाको पहलमा निर्माण गरिएका नागरिलाई क्वारेन्टाइनमा राखेका छौं । उनीहरुलाई १६ दिनसम्म क्वारेन्टाइनमा राख्न भनेका छौं ।'
दशरथचन्द नगरपालिकाका १८, पाटन नगरपालिकाका ५, मेलौली नगरपालिकाका २, पुर्चौंडी नगरपालिकाका १७५, सुर्नया गाउँपालिकाका २७, पञ्चेश्वर गाउँपालिकाका ३, दोगडाकेदार गाउँपालिकाका २०, डिलाशैनी गाउँपालिकाका ३८,सिगास गाउँपालिकाका १२ र शिवनाथ गाउँपालिकाका १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट फर्केका नागरिकहरुलाई सम्बन्धित पालिकाले बनाएका क्वारेन्टाइनमा राखिएको हो ।
जिल्लाभरी 10वटै स्थानीय तहहरुले ७ सय २ क्वारेन्टाइन बेड निर्माण गरेका छन् । विभिन्न विद्यालयमा क्वारेन्टाइन बेड निर्माण गरिएका सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए ।
भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस !