वीरगन्जमा राहत बाँड्ने विषयमा झडप, १९ जना घाइते

वीरगन्जमा राहत बाँड्ने विषयमा झडप, १९ जना घाइते

वीरगन्ज : वीरगन्ज महानगरपालिका- १९ बरेवा गाउँमा लकडाउनले समस्यामा परेकाहरुका लागि राहत बाँड्ने विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको टाउको फुटेको छ भने कतिपयको हात भाँच्चिएको छ। घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। 

महानगरपालिकाले वडा नम्बर १९ मा राहत सामग्री बाँड्न मंगलबार १ लाख २५ हजार रुपैयाँ पठाएको थियो। उक्त रकमबाट राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो।

समितिले लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा पाएको थियो। बुधबार बिहान बरेवा गाउँमा समितिका सदस्यहरुले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप हुँदा १९ जना घाइते भएका हुन्। 

समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरुको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए। उपेन्द्रले विरोध गरेपछि दुवै पक्ष एक अर्का माथि हातपात गर्न थालेका हुन्।

अस्पतालमा उपचार गराइरहेका समितिका सदस्य प्रभुले बुधबार बिहान लगत संकलन गर्ने क्रममा समितिमा नै नरहेका उपेन्द्र र उनका परिवारका सदस्यहरुले विवाद गरी आफूमाथि हातपात गरेको बताए। 

झडपमा घाइते भएर उपचार गराइरहेका उपेन्द्रले भने लगत संकलनका क्रममा प्रभुले पक्षपात गरेपछि आफुले विरोध गर्दा प्रभु र उनीसहितका व्यक्तिहरु आफुमाथि जाइ लागेर कुटपिट गरेको बताए। 

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३/४ जनालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष सन्तोष तिवारीले बताए। पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले झडपमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। 

तस्बिर : क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.