लकडाउन उल्लंघन गर्ने ४ सय बढी भारतीय क्याम्पसमा थुनिए
वीरगन्ज : लकडाउन उल्लंघन गरी नेपालबाट भारत फर्किन लागेका ४ सयभन्दा बढी भातरीयलाई वीरगन्ज नाकाबाट नियन्त्रणमा लिइएको छ । काठमाडौं , पोखरा, नारायणगढ लगायतका शहरबाट वीरगन्ज नाका हुँदै घर फर्कने क्रममा चार सय १४ भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लकडाउन उल्लंघन गरेर नेपालका विभिन्न शहरबाट गाडीमा सवार भइ मङगलबार राति र बुधबार बिहान वीरगन्ज आइपुगेका भारतीयलाई प्रहरीले वीरगन्जको गण्डक, परवानीपुर र इनर्वा नाकाबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका मध्ये ३ सय ५० भारतीयलाई ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको एउटै भवनमा थुनेर राखेको छ । महिला, बालबालिका र केही पुरुष गरी ६२ जनालाई भने क्याम्पस परिसरको चौरमा प्रहरीले घेरा हालेर राखेको छ ।
प्रहरीले नियन्त्रणमा लिएका भारतीयले भने नेपाल प्रहरीले स्वास्थ्य परीक्षणपछि भारत जान दिने शर्तमा ल्याएको भए पनि मध्यरातदेखि ४ सय जनालाई एउटै भवनमा कोचेर गेटमा बाहिरबाट ताल्चा लगाइदिएको गुनासो गरेका छन् ।
काठमाडौंबाट घर फर्किरहेका बिहार सुगौलीका धरिक्षण राउतले भने,‘ काठमाडौंबाट ३ दिन लगाएर जसोतसो वीरगन्ज नाका पुगेको थिएँ , नाकामा प्रहरीले रोक्यो, स्वास्थ्य जाँच गरेर पठाइदिन्छौँ भने तर रातिदेखि यहाँ ल्याएर हामीलाई जेलको कैदी जस्तो थुनेर राखेको छ ।',
प्रहरी नियन्त्रणमा रहेका बिहार चनपटीयाका मकबुल अन्सारीले भने ,‘ नारायणगढमा काम गर्ने कारखाना बन्द छ, साहुले पनि बारम्बार घर जाउ भन्यो, आफूसँगको पैसा पनि सकियो, भोकै मर्नुभन्दा बरु आफ्नै भूमीमा मर्नु बेस भनेर घर हिँडेको हुँ , तर यहाँ प्रहरीले अपराधी जस्तै थुनेर राखेको छ ।'
प्रहरी नियन्त्रणमा रहेका भारतीयले नेपाल सरकारले नाकामा लगेर छोडिदिए आफूहरु भारतीय सुरक्षाकर्मीसँग कुरा गरेर जसरी पनि भारत छिर्ने बताएका छन् ।
पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले भने लकडाउनमा नेपाल भारत दुवै नाकामा यात्रुको आवागमन ठप्प रहेका कारण वीरगन्ज आइपुगेका भारतीयलाई नेपालको नाकाबाट भारत पठाउन नसकिने बताइन् ।
उनले प्रहरी निन्त्रणमा रहेका भारतीयलाई खान बस्ने व्यवस्था गरेर १४ दिनसम्म वीरगन्जमै राखिने बताइन् । उनले भनिन्,‘राख्ने ठाँउको विषयमा सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालासँग छलफल भइरहेको छ ।'
क्याम्पसको भवनमा प्रहरी नियन्त्रणमा रहेका भारतीयलाई प्रहरीको समन्वयमा ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगर बुधबार दिउँसो एक छाक खाना खुवाउनुका साथै खाजाका लागि मिनरल वाटर र चाउचाउ बाडेको छ ।
प्रतिक्रिया दिनुहोस !