२ सय ५० विपन्न परिवारलाई खाद्यान्न वितरण
वीरगन्ज : पर्साको बिन्दवासीनी गाउँपालिकाको गर्दौलका एक व्याक्तिले लकडाउनले छाक टार्न समस्यामा परेका २ सय ५० परिवारलाई आफ्नो निजी खर्चमा खाद्यान्न सामाग्री बाढेका छन् । स्थानीय प्रमोद तिवारीले बिन्दवासीनी गाउँपालिका वडा नम्बर १ र २ मा गरी बुधबार २ सय ५० विपन्न परिवारलाई चामल, नुन र स्वयाबिन बाढेका हुन् ।
तिवारीले प्रतिपरिवार साढे १२ केजी चामल, एक केजी नुन र २५० ग्राम स्वयाबिन बाढेका हुन् । ३ हजार १ सय २५ केजी चामल, २५० केजी नुन र ६० केजी स्वयाबिन खरिद गरेर साढे २ सय विपन्न परिवारलाई बाढेको उनले बताए।
लकडाउनका कारण गाँउका विपन्न परिवारलाई छाक टार्न समेत समस्या परेको देखेपछि आफ्नो निजी खर्चमै खाद्यान्न सामाग्री वितरण गरेको तिवारीले जानकारी दिए ।
'गाउँकै छिमेकी भोकभोकै बस्नु पर्ने अवस्था देखें, अनि परिवारमा सल्लाह गरेर आफूले सकेको जति सामान बाढें', उनले भने, ‘गाउँमा कोही पनि भोकभोकै बस्न नपरोस् भन्ने मेरो उदेश्य हो ।'
खाद्यन्न सामाग्रीका साथै प्रति परिवारमा २ थान मास्क पनि बाढेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !