२४ घण्टामा २० बेडको आइसोलेसन वार्ड बन्दै
वीरगन्ज : पाँच बेडको आइसोलेसन वार्डले बिरामीको चाप थग्न नसकेपछि नारायणी अस्पतालमा दाताको सहयोगमा थप २० शैय्याको आइसोलेसन वार्ड बनाउन थालिएको छ।
वीरगन्जमा रहेका निजी अस्पतालले सामान्य ज्वरोका बिरामीलाई उपचार गर्न नमानेपछि नारायणी अस्पतालमा केही दिन यता ज्वरोलगायतका बिरामीको चाप ह्वात्तै बढेको छ।
जसका कारण ५ शैय्याको आइसोलेसन वार्डले नथेगेपछि अस्पतालका चिकित्सकको अनुरोधमा २४ घण्टा भित्रै थप २० शैय्याको वार्ड बुधबारदेखि बनाउन थालिएको हो।
मङगलबार बेलुकी अस्पतालका चिकित्सकको टोलीले पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई उनको निवासमै भेटेर थप आइसोलेसन वार्डका लागि पहल गरिदिन आग्रह गरेका थिए।
सांसद यादवको पहलमा औद्योगिक घराना जगदम्बा ग्रुपका सन्चालक राजेश अग्रवाल र रुङगटा वेयल फेयर सोसाइटीले १० लाख रुपैयाँको लागतमा २० शैय्याको आइसोलेन वार्ड बनाउन थालिएको हो।
नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर उदयनारायण सिंहले ५ बेड मात्रको आइसोलेसन वार्डले बिरामीको चाप थेग्न नसकेपछि सांसद यादवलाई भेटेर आग्रह गरेपछि थप २० शैय्याको आइसोलेसन वार्ड बनाउने काम सुरु भएको बताए।
प्रतिक्रिया दिनुहोस !