क्वारेन्टाइनमा कोचाकोच

क्वारेन्टाइनमा कोचाकोच

डोटी/बैतडी : सरकारले कोरोना सर्न नदिन कम्तीमा एक मिटरको दूरी कायम गर्न भनेको छ। तर, संक्रमणको सम्भावना देखिएका व्यक्ति राख्ने क्वारेन्टाइनमै एउटै बेडमा चार जनासम्म बसिरहेका छन्।

डोटीको शिखर नगरपालिका–१० स्थित सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा १५ जना बस्छन्। भौतिक दूरी कायम नगरीकनै उनीहरू चार जनासम्म एउटै ओछ्यान (बेड)मा बस्ने गरेको पाइएको छ।

‘क्वारेन्टाइन व्यवस्थापन राम्रो छैन, जसोतसो बसिरहेका छौं’, वडा नम्बर ११ का दीपक बलायरले भने, ‘लुगा, कपडा पर्याप्त नभएर चिसोले पेट दुख्ने, टाउको दुख्ने समस्या भए पनि सामान्य औषधिसमेत उपलब्ध छैन।’ भाँडा माझ्ने, नुहाउने, हात धुने साबुनका साथै खाना पकाउन दाउरा अभावसमेत रहेको त्यहाँ बस्नेहरू बताउँछन्।

भारतको चेन्नईबाट आएकी वडा नम्बर १० की लक्ष्मी दमाई एक्ली महिला हुन्। उनी दुई भाइसँगै एकै बेडमा बस्न बाध्य छिन्। ‘न ओढ्ने राम्रो छ न त ओछ्याउने नै, सामान्य पिफम तथा कम्मलले रात काट्नुपर्ने बाध्यता छ’, उनले भनिन्, ‘महिनावारीको समय आइरहेको छ। यस्तै भइहाल्यो भने म कसरी भाइहरूसँग बस्ने ? ’ शिखर नगरपालिका मेयर सीताराम जोशीले भने राम्रै व्यवस्थापन गरेको दाबी गरे। ‘के भएछ ? ’, उनले भने, ‘सम्बन्धित वडाध्यक्षहरूलाई सम्पूर्ण जिम्मेवारी दिएका थियौं।’

११ नम्बरका वडाध्यक्ष भीष्म बलायरले सबै व्यवस्था राम्रै भएको दाबी गरे। ‘कोठामा अलग–अलग बेड बनाएका थियौं तर उनीहरू आफैंले एउटैमा मिलाएर बसेका हुन्’, उनले भने, ‘बेडहरू त आफैंले पनि अलग बनाउन सकिन्छ नि ! महामारीका बेला उनीहरूले पनि त आफ्ना तर्फबाट केही सहयोग गर्न सक्छन्।’

दिपायल सिलगढी नगरपालिका–४ राजपुरको क्वारेन्टाइनमा पानी र औषधिको समस्या पाइएको छ। ‘पानीको समस्या छ भने चिसोका कारण पेट, टाउको दुख्ने भएकाले औषिधको अभाव छ’, चन्द्र खड्काले भने।

भारतमा कोरोना फैलिएपछि डोटी फर्किएका नेपालीको यकिन तथ्यांक छैन। हजारौं हुन सक्ने अनुमान गरिएको छ। तीमध्ये ४ सय १० जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ। नौवटै स्थानीय तहमा स्थापना गरिएका २५ क्वारेन्टाइनमा ५ सय १७ बेड रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति सूर्य विष्टले बताए।

बोगटान फुड्सिल गाउँपालिकाले सबैभन्दा बढी १ सय १५ जनालाई क्वारेन्टाइनमा राखेको छ। आदर्श गाउँपालिकामा ८१, बडीकेदारमा ४५, जोरायलमा ६, पूर्वीचौकीमा दुई, केआईसिंहमा १३, सायलमा ३९, शिखरमा ७६ र दिपायल सिलगढी नगरपालिकामा ३३ जना क्वारेन्टाइनमा छन्।

भारत र तेस्रो मुलुकबाट घर फर्किएर घरमै बसिरहेकाहरूको तथ्यांक संकलन स्थानीय तहमार्फत भइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

२२७ नेपाली भारतीय क्वारेन्टाइनमा

बैतडीपारि झुलाघाट सीमामा अलपत्र परेका नेपालीलाई भारत सरकारले क्वारेन्टाइनमा राखेको छ। लकडाउनका कारण सीमा नाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए।

उनका अनुसार तालेश्वरस्थित धर्मशालामा ५७, खरक्युडा, जामिरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयहरूमा १ सय ७० जना मजदुरलाई क्वारेन्टाइन राखिएको हो। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको परीक्षणले देखाएको छ।

डा. सचिनप्रकाश देवल र डा. कल्पित रौतेलाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। ‘क्वारेन्टाइनमा राखिएका सबै नेपालीहरूको स्वास्थ्य परीक्षण गरिएको छ’, पत्रकार भट्टले भने, ‘उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।’ क्वारेन्टाइनमा राखिएका नेपालीका लागि निःशुल्क खानाको व्यवस्था गरिएको उनले सुनाए।

जिल्ला प्रशासन कार्यालय पिथौरागढको पहलमा नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो। घर फर्किन लागेका नेपाली लकडाउनका कारण सीमामा अलपत्र परेका छन्। कतिपय ट्युबका माध्यमबाट महाकाली नदी तरेर नेपाल भित्रिरहेका छन्। ‘भारतीय सीमामा हामी नेपाली मजदुरहरूको बिचल्ली छ। काम पनि नपाएको अवस्था छ। अहिले सम्म कमाएको सबै सकिने अवस्था आएको छ’, सुर्नया गाउँपालिका–८ का मानबहादुर बोहराले भने, ‘हामी ट्युबबाट महाकाली नदी तरेर नेपाल फर्केका छौं। गाउँको विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका छौं।’

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने अर्को आदेश नभएसम्म सीमा नाका खोल्न नसकिने बताए। सीमा नाका नखुल्दासम्म मजदुरहरूलाई नेपाल भिœयाउन नसकिने उनको भनाइ छ। ‘कोरोना उच्च जोखिम रहेकाले अहिले देश नै लकडाउन छ’, उनले भने, ‘हामी जहाँ छौं त्यहीं सुरक्षित रूपमा बस्नुपर्ने हुन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.