कोरोना प्रभाव : हेलिप्याडदेखि मजदुरको तथ्यांक संकलन गरिँदै
बैतडी : बैतडीको दुर्गम सिगास गाउँपालिकाले २ स्थानमा अस्थायी हेलिप्याड निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमण भएमा संक्रमितलाई आपलकालिन उद्धार गर्न सजिलोका लागि अस्थायी हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।
वडा नं २ गाँजरी र वडा नं ८ को लेकमा अस्थायी हेलिप्याड निर्माण गरिएको उनले बताए । उनले गाउँपालिकामा एम्बुलेन्सको बेवस्ता नभएपनि तत्काल उद्धार गर्न अस्थायी हेलिप्याड निर्माण गरिएको बताए।
यस्तै गाउँपालिकाले सबै वडामा गरी ९० बेडका क्वारेन्टाइन निर्माण गर्नुका साथै गाँजरीमा ३ र लेकमा २ बेडका आइशोलेसन कक्ष समेत निर्माण गरेको जनाएको छ । पालिकाका विभिन्न स्थानमा गरी ६ हेल्थ डेस्क स्थापना गर्दै भारत तथा अन्य मुलकबाट आउन नागरिककको अनिवार्य स्वास्थ्य परीक्षण गरिरहेको अध्यक्ष धामीले बताए ।
मजदुरको तथ्यांक संकलन गरिँदै
जिल्लाका विभिन्न स्थानीय तहले दैनिक मजदुरी गरेर छाक टार्ने परिवारको तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै लकडाउन भएपछि मजदुरी गरेर खाने वर्गलाई समस्या परेको भन्दै उनीहरुलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले तथ्यांक संकलन गरिरहेको पालिकाले जनाएका छन् ।
नगरपालिकाका ११ वटै वडामा दैनिक मजदुरी गरेर खाने वर्गको तथ्यांक संकलन गर्ने कार्य गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । ४ जनासम्म सदस्य भएको परिवारलाई १० केजी र ४ जना भन्दा बढी सदस्य भएको परिवारलाई १५ केजीका दरले चामल वितरण गर्ने तयारी भएको उपप्रमुख चन्दले बताइन्।
यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले पनि गरिब मजदुरको तथ्यांक संकलन गरेर खाद्यान्न वितरण गर्ने जनाएको छ । पालिकामा दैनिक ज्यालामजदुरी गरेर खाने वर्गको तथ्यांक संकलन गरेर खाद्यान्न वितरण गर्ने गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए । यस्तै गाउँपालिकामा भारतबाट आएका नागरिकको पनि तथ्यांक संकलन कार्य जारी रहेको उनले बताए ।
भारतबाट फर्केका ३२३ जना क्वारेन्टाइनमा
भारतबाट फर्केका जिल्लाका विभिन्न स्थानका ३२३ जना क्वारेन्टाइनमा बसेका छन् । स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा उनीहरु बसेका स्वास्थ्य कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा १८,पाटनमा ५, मेलौलीमा २,पुर्चौंडीमा १७७, पञ्चेश्वमा ३, सुर्नयामा ३६, दोगडाकेदारमा २०, डिलाशैनीमा ३९, सिगासमा १५ र शिवनाथमा ८ जना क्वारेन्टाइनमा बसेका स्वास्थ्यका कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस !