लकडाउन उलंघन गर्नेलाई नियन्त्रणमा लिएर २ घण्टा 'क्लास'
काभ्रे : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन खटिरहेका प्रहरीले लकडाउन उल्लंघन गर्ने लाई खुल्ला चौरमा राखेर सचेतना कक्षा लिन सुरु गरेका छन्।
बनेपास्थित इलाका प्रहरी कार्यालयले बिना काम बाटोमा हिड्नेलाई बुधबारबाट खुल्ला चौरमा राखेर कोरोनाका बारेमा सचेतना दिन सुरु गरिएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। ‘हामीले बिना काम घर बाहिर निस्केहरुलाई २ घण्टा कक्षा लिनका लागि बसपार्कमा रहेको खाली ठाउँ र पोलिटेक्नीकको खुल्ला चौर कक्षा लिने व्यवस्था गरेका छौ’ तिमिल्सिनाले भने। 
बुधबार बिना काम सडकमा हिडिरहेका ८५ जनालाई र बिहीबार १०६ जनालाई सोधपुछ गरेर चौरमा राखी सचेतना कक्षा दिइएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।
सचेतना कक्षामा स्वास्थ्यकर्मी मार्फत कोरोनाबारे जानकारी दिने व्यवस्था समेत गरेको प्रहरीले जनाएको छ।
सचेतना कक्षामा कोरोनाबारे जानकारी, हातधुने तरिका, कोरोना संक्रमण भएमा के कस्ता कुराहरुमा ध्यान दिने भन्ने बिषयमा केन्द्रित दिइएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए।
बाटोमा बिना काम चलाएका कार, मोटरसाईकल र स्कुटर गरी १२ सवारीलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !