खाडीका नेपाली फिर्तीमा अन्योल

खाडीका नेपाली फिर्तीमा अन्योल

काठमाडौं : रोजगारीका लागि खाडीमा रहेका नेपाली स्वदेश फर्कन चाहेपछि उनीहरुलाई ल्याउने-नल्याउने विषयमा सरकार द्विविधामा परेको छ। कुवेतले अहिले गैर भिसामा बसेका विदेशीलाई सुविधा दिएर घर फर्काउने निर्णय गरेको छ। खाडी मुलुकसहित पश्चिम एसिया क्षेत्रमा करिब २० लाख नेपाली कार्यरत छन्। अहिले ती मुलुकबाट नेपालीलाई स्वदेश ल्याउन सक्ने अवस्था छैन।

कुवेत सरकारले अप्रिल महिनाभर विदेशी नागरिकलाई आफूले काम गरेको स्थान र रहनुपरेको कारणसहित जानकारी दिए फर्काउन प्रक्रिया अघि बढाउने जनाएको छ। फिर्ती प्रक्रिायका लागि उसले कामदार पठाउने मुलुकलाई समेत जानकारी दिइसकेको छ।

कुवेतमा ७० हजार बढी नेपाली कार्यरत छन्। सात हजार भन्दा बढी बिना भिसामा काम गरिरहेको सूचना दूतावासलाई छ। बिना भिसाका नेपालीसहित सबै मुलुकलाई त्यहाँको सरकारले अहिले सुविधा दिएपछि आफूहरु स्वदेश फर्कन चाहेको भन्दै दूतावाससँग सम्पमर्कमा आएका छन्।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालीसहित सबै विदेशी कामदारलाई दिएको यो अवसर राम्रो भए पनि मुलुकको वर्तमान अवस्थामा कसरी फर्काउन सकिएला भन्ने विषय छलफल भइरहेको बताए।

‘यसबारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छु। अन्य मुलुकले लैजाने भनिरहेका छन्’, भण्डारीले टेलिफोनमा भने, ‘हामी नेपालीसँग सम्पर्कमा छौं। यहाँ पनि छलफल गरिरहेका छौं।’

फिलिपिन्स, भारत र अन्य मुलुकले विमान चार्टर गरी लैजाने तयारी गरेका छन्। नेपालमा त्यो अवस्था नरहेको जानकारी दूतावासले दिनुपर्ने परराष्ट्रको भनाइ छ। खाडी मुलुक साउदी अरेबिया, ओमान, बहराइन, युएई, कतारलगायतबाट पनि स्वदेश फर्कन चाहने नेपालीको संख्या धेरै छ। कतिपयले टिकट समेत लिइसकेका थिए।

खाडीमा संक्रमणको संख्या कम भए पनि नेपाली त्रासमा छन्। बहराइनमा तीनजनामा संक्रमण देखिएको छ भने युएईमा ६ जना पुगिसकेको छ। २ जना उपचार गरेर आफ्नो निवासमा फर्केका छन्। साउदी र कुवेतमा एक-एक जनामा संक्रमण देखिएको छ। युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुई नेपालीको सफल उपचार गराएकोमा त्यहाँको सरकारलाई धन्यवाद दिएका छन्। अन्य संक्रमितको उपचारमा जोड दिएको उनले जानकारी दिए। त्यो क्षेत्रका अन्य राजदूतहरु पनि नेपालीको सम्र्कमा रहेर उनीहरुको अवस्थाबारै परराष्ट्र मन्त्रालयलाई दिनहुँ खबर गरिरहेका छन्।

पश्चिम एसिया महाशाखा प्रमुख हरिशचन्द्र घिमिरेले सबैको जानकारी आइरहेको बताए। ‘हामी कहिले मन्त्रालय पुगेर त कहिले घरबाटै पनि त्यहाँको अवस्थाबारेमा दैनिक जानकारी लिइरहेका छौं’, उनले भने।

इजरायल, दक्षिण अफ्रिका र इजिप्टले पनि त्यहाँको बारेमा नियमित जानकारी गराइरहेका छन्। ति मलुकमा अहिलेसम्म कोरोनाबाट कोही संक्रमित छैनन्। इजिप्टका राजदूत झविन्द्र अर्यालले अन्नपूर्णसँग भने, ‘यहाँबाट हेरिने १८ मुलुकमा नै कोरोना संक्रमण फैलिएको छ। नेपालीलाई अहिलेसम्म संक्रमण देखिएको छैन। संक्रमण भइहाले उपचारमा सहयोगी बन्न सम्पर्क सञ्जाल छरितो पारेका छौं।’

‘दूतावास आलोपालो खोल्ने तथा कार्यालय समयपछि पनि फोन उठ्ने ब्यवस्था गरेका छौं’, उनले भने।

दक्षिण अफ्रिकाका कार्यवाहक राजदूत घनश्याम लम्सालले पनि सम्पर्क सञ्जालमा रहेर काम गरिरहेको बताए। इजरायलका राजदूतले पनि त्यहाँ रहेको नेपालीबारेमा जानकारी गराइरहेका छन्। इजरायलमा निकै कम नेपाली छन्।

साइप्रसको अवस्थाका बारेमा विवरण पठाउन भनिएको छ। दूतावासले आफ्नो वेभपोर्टलमा साइप्रसका अवैतनिक दूत र गैरआवासीय नेपालीको सम्पर्कबाट समस्यामा परेकालाई सघाउने उल्लेख गरेको छ। पश्चिम एसियाली मुलुकमा रहेका नेपाली लकडाउन र आंशिक लकडाउने रोजगारी गुम्ने त्रासमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.