अलपत्र नेपालीको आवाज : मरे पनि आफ्नै देशमा मर्न पाऊँ
बैतडी : जिल्लाको पुर्चौंडी नगरपालिका-८ मल्लादेहीका नरबहादुर बोहरा भारतको लुवाघाटमा काम गर्दै थिए। नयाँ वर्ष (बिसु) मनाउन घर फर्कने उनको योजना थियो। एक्कासी कोरोना भाइरसको सन्त्रास फैलिएपछि उनी घर फर्कन तम्तयार भए तर भनेको समयमा काम गरेको पैसा पाएनन्। त्यतिबेलासम्म नेपाल लकडाउन भइसकेको थियो।
लुवाघाटबाट हिँडेरै झुलाघाट नजिक उनीसहित सात जना बल्तडी पुगे। एकरात भारतको एउटा विद्यालयको आँगनमा कटाए। विदेशी भूमिमा तीन दिनसम्म भोकै बसेको उनले सुनाए। उनले भने 'अर्काको देशमा भोकै मर्नुभन्दा त पारी जान पाए केही न केही व्यवस्था भइहाल्थ्यो भनेर सोच्यौं। नाका बन्द थियो। हामीले सहजै नेपाल भित्रिन सकिने अवस्था थिएन्। साँझको समयमा ट्युबबाट नेपाल भित्रिने निधो गर्यौं। हामीले प्रतिव्यक्ति १ हजार २ सय तिरेर ट्युबबाट नेपालको भूमिमा टेक्यौं।' गएको मंगलबार सात जनाले एकैपटक ट्युबबाट महाकाली नदी तरेर नेपाल भूमि टेकेका हुन्। 'स्वदेशमा आएपछि अहिले हाम्रै गाउँको विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका छौं। आफ्नो देशमा खाना त पाइरहेका छौं। धेरै नेपाली सीमामा अलपत्र छन्। उनीहरुको सरकारले उद्धार गरेर स्वदेशकै क्वारेन्टाइनमा राख्नुपर्छ।'ट्युबमार्फत महाकाली तरेर नेपाल फर्केका गणेश बोहराले अन्नपूर्ण अनलाइनसँग भने, 'भारतको सीमा झुलाघाटमा अहिले सयौं नेपाली भोकभोकै छन्। यो तर्फ सरकारको ध्यान जाओस।'
सुर्नया-८ का बीरबहादुर बोहरा पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्केका छन्। भारतीय क्वारेन्टाइनमा बसोबासको समस्या भएपछि उनीपनि जोखिम मोलेर नेपाल छिरेका हुन्। उनी अहिले गाउँपालिकाले गाउँकै विद्यालयमा बनाएको क्वारेन्टाइनमा बसेका छन्। उनले भने 'एक दिन म पनि धर्मशालामा बसेको हुँ। अर्काको देशमा भोकभोकै मर्नुभन्दा स्वदेश मरौंला भनेर ज्यानको बाजी लगाएर फर्केको हुँ। साँझको समयमा ट्युबवालालाई एक हजार दिएर महाकाली नदी तरेर नेपाल आएको हुँ।'
सरकारले लकडाउनसँगै सीमा नाका बन्द गरेको भए पनि अहिले झुलाघाट आसपासका क्षेत्रबाट ट्युबका माध्यमबाट दैनिक नेपालीहरु स्वदेश भित्रिरहेका छन्। भारतीय भूमिमा खान बस्नको निकै समस्या भएपछि आफूहरु जोखिम मोलेर स्वदेश फर्केको उनीहरुको भनाई छ। लकडाउन पछि ट्युबमार्फत कति नेपाली स्वदेश फर्किए भन्ने एकिन तथ्यांक नभए पनि क्वारेन्टाइनमा बसेका ४३९ मध्ये धेरै जसो ट्युबमार्फत स्वदेश फर्केका हुन्। अझै पनि महाकाली नदीमा ट्युबमार्फत तरेर नेपाल आउने क्रम जारी रहेको छ। ट्युबमार्फत महाकाली नदी तरेर बैतडी पुगेका नागरिक सम्बन्धित पालिकाले बनाएका क्वारेन्टाइनमा बसेका छन्।
भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई समस्यै समस्या
बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाटका केही विद्यालय र धर्मशालामा अहिले अढाई सय बढी नेपाली मजदुर छन्। उनीहरुलाई खानाका लागि भारतले चामल उपलब्ध गराएको भए पनि बसोबासको भने निकै समस्या छ। 'हामीहरु एक विद्यालयमा ८५ जना बसिरहेका छौं। बस्नका लागि हामीसँग भएकै कपडा प्रयोग गरेर भुइँमा सुतिरहेका छौं। धेरै जना एकै ठाउँमा बस्दा समस्या भएको छ' बैतडीको पुर्चौंडी-३ न्वादेउका सल्लो पार्कीले भने, 'यता काम पनि रोकियो। घरका लागि भनेर कमाएको पैसा पनि सकियो। हामीलाई स्वदेश फर्कायो भने हामी १ महिना भने पनि क्वारेन्टाइनमै बस्थ्यौं। अर्काको देशमा हामीलाई साह्रै समस्या भएको छ।'
क्वारेन्टाइनमा बसेका नेपालीहरु सामूहिक रुपमा आफै खाना बनाएर खाने गरेका छन्। यसले पनि रोगको जोखिम हुन सक्ने भएकाले आफूहरुलाई स्वदेश फर्काउन उनीहरुको माग छ। 'क्वारेन्टाइनमा बसेका हामीसँगैका धेरै साथीहरु ट्युबमार्फत नेपाल पुगिसके। हामीसँग फर्कने खर्च पनि छैन्। हामीलाई आफ्नो देश अहिले बिरानो भएको छ' अन्नपूर्ण अनलाइनसँग फोनमा कुरा गर्दै पुर्चौंडीका लोकेन्द्र पार्कीले भने 'जसरी भए पनि हामी हाम्रो देश नेपाल जान चाहन्छौं। हामी मजदुर हौं। हामीसँग पैसा छैन्। यताका क्वारेन्टाइनमा हामीहरु धेरै समस्या झेलीरहेका छौं।'
ओढारमा छौं हाम्रो आवाज सुनिदिनु पर्यो
भारतका विभिन्न स्थानमा ज्यालामजदुरी गरिरहेका केही नेपाली मजदुरहरु क्वारेन्टाइनमा बसे पनि धेरै जसो ओढारमै रात बिताउन बाध्य भएका छन्। क्वारेन्टाइनसम्म पुग्न नसकेका र आफूहरुसँग खर्च नभएका नेपाली मजदुर सीमावर्ती भारतका ओढारहरु दिन रात काट्न बाध्य भएका हुन्। पुर्चौंडी नगरपालिका-८ मल्लादेही घर भएका केशव पाठकले आफूहरु तीनदेखि आम्भाडी भन्ने स्थानमा ओढारमा बसिरहेको अन्नपूर्ण अनलाइनसँग बताए। उनले भने 'हामी ५ जना अहिले ओढारमा बसेका छौं। अन्य ठाउँमा पनि धेरै नागरिक ओढारमा दिन रात भोकभोकै बिताइरहेका छन्। अर्काको देशमा भोकै मर्नुभन्दा स्वदेश फर्कन पाए हुन्थ्यो।'
पैसा भएकाहरु ट्युबमार्फत नेपाल फर्किरहेका र आफूहरुसँग भएको पैसासमेत सकिएकाले अलपत्र गरेको पाठकले बताए। उनले भने 'हामीलाई स्वदेश फर्काएर जति दिन पनि क्वारेन्टाइनमा बस्न तयार छौं। तर अर्काको देशमा भोकभोकै बस्न हामीलाई साह्रै असहज भएको छ।'
प्रतिक्रिया दिनुहोस !