'लक डाउन'सँगै बिरामीलाई निशुल्क खाना खुवाउँदै वडा अध्यक्ष
वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालका बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई वीरगन्ज ४ का वडा अध्यक्ष जगत साह कानुले १३ दिनदेखि निशुल्क खाना खुवाउँदै आएका छन् । लकडाउनले बजार पसल बन्द भएसँगै अस्तालमा भर्ना रहेका बिरामी र कुरुवा भोकभोकै भएपछि वडा अध्यक्ष कानुले लकडाउन सुरु भएको चैत ११ को साँझदेखि निशुल्क खानाको मेस संचालन गरेका हुन् ।
अस्पताल परिसरमै चलाइएको मेसमा बिहान र बेलुकी गरी दुई छाक खाना खुवाउँदै आएका वडा अध्यक्ष कानुले भने,' हरेक दिन बिहान र बेलुकी गरी २ सय जनाले खाना खाइरहेका छन् ।' लकडाउन सुरु भएको दिनदेखि चैत २२ साँझसम्म बिहान बेलुकी गरी झण्डै ३५ सय जनालाई खाना खुवाइ सकिएको भन्दै उनले लकडाउन जारी रहेसम्म मेस संचालन गरिने जानकारी दिए ।
निशुल्क मेसमा अस्पतालका बिरामी र कुरुवा मात्र नभइ अस्पतालका स्वास्थ्यकर्मी, छेउछाउका रिक्सा र ठेला चालक पनि आएर खाना खाने गरेका छन्। 'खाना खाने समयमा रिक्सा ठेला चालक पनि आइ पुग्छन्,' हामीले रोक्दैनौं, मेसमा खटिएका लालबाबु सिंहले भने, 'यो संकटको घडीमा कोही पनि भोको नबसून भन्ने हाम्रो उदेश्य हो, जो आएपनि हामीले खान दिइरहेका छौं।'
सुरुका केही दिन निजी खर्चमा मेस चलाएको र त्यसपछि भने वीरगन्जका दाताबाट दाल चामल तेल तरकारीलगायत सामान सहयोग मागेर निशुल्क खाना खुवाइरहेको वडा अध्यक्ष कानुले बताए । 'सामान सक्ने वित्तिकै फोन गर्छु मनकारी दाताहरुले आफैले सामान ल्याएर पुर्याइ दिन्छन्, उनले भने, 'मेसका लागि सामानको कमी छैन ।' 
प्रतिक्रिया दिनुहोस !