छैटौं कोरोना संक्रमित युवकसँगै आएका ५३ जनाको स्वाब परीक्षण गरिने
अछाम : भारतबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएपछि अछाममा पनी उच्च सर्तकता अपनाउन थालिएको छ । ती संक्रमीतसँगै फर्किएका अछामका ५३ जनाको स्वाब परीक्षणका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेले बताए । उनले भने, '१२ दिनसम्म उनीहरुमा कुनै समस्या नदेखिएको छैन, सोमबार घर पठाउने तयारी गरेका थियौं, कैलालीका युवकसँगैको समूहमा यो समूह पनि थियो, त्यसैले स्वाब परीक्षण गर्ने तयारीमा छौं।'
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागी घोषणा गरेको लकडाउन दिन अर्थात चैत ११ गते ती सक्रमीत युवकसंगै अछामका ५३ जना आएका थिए । स्वाब परिक्षणका लागी प्रदेश र केन्द्र सरकारसंग समन्वय भइरहेको प्रजिअ पौडेलले बताए । कैलालीका युवकमा कोरोनाको संक्रमण देखिएपछि अछाममा अहिले त्रास फैलिएको मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताए।
'उनीहरुलाई सोमबार घर पठाउने तयारीमा थियौं, मेयर बोहराले भने, 'अब उनीहरुको स्वाब परीक्षणको नतिजापछि मात्र पठाउँछौं।'
होम क्वारेन्टाइनमा बसेकोको स्वास्थकर्मी परिचालन गरी स्वास्थ अवस्था बुझ्ने गरेको उनले बताए । अछामका स्थानीय तहहरुले संकलन गरेको डाटा अनुसार जिल्लामा फागुन महिना यता ४ हजार भन्दा बढी मानिस भारत तथा बाहिर जिल्लाबाट आएका छन् ।
जिल्लामा ३० वटा आइसोलेसन वार्ड र १ सय ७१ क्वारेन्टाइन बनाइएको प्रजिअ पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कमान्ड पोस्ट बनाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाईन बनाउनुका साथै कोरोना रोकथाम,नियन्त्रण र उपचार कोषको स्थापना गरेका छन् । स्थानीय तहहरुले अहिले लकडाउनका कारण मारमा परेका श्रमिक वर्ग र असहायलाई खाद्यान्न समेत वितरण गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !