‘सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा’

‘सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा’

धनगढी : चिकित्सकले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको बताएका छन्। भारतबाट नेपाल भित्रिएका नेपालीमा पनि कोरोनाको संक्रमण देखिनु र तेस्रो मुलकबाटै संक्रमित भएर आएका व्यक्तिले परिवारलाई सारेको पुष्टि भएपछि जोखिम बढेको चिकित्सकले बताएका हुन्। 

शनिबार मात्रै भारतटबाट फर्केर कञ्चनपुरको बेदकोट नगरपालिका-९ को कृषि फाइलट फार्म छात्रबासको क्वारेन्टाइनमा बसेका ४१ वर्षका पुरुष र कैलालीको लम्की चुहा नगरपालिका–९ मै रहेको सरस्वती माविको क्वारेन्टाइनमा बसेका २१ वर्षका युवकमा कोराना संक्रमण देखिएको थियो ।

कञ्चनपुरको बेदकोटका व्यक्ति भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट फर्केका हुन भने कैलालीको लम्कीचहाका युवक भारतको महाराष्ट राज्यको मुम्बईबाट घर फर्किएका हुन्। 

‘भारतबाट फर्केकामा कोरोनाको संक्रमण देखिनु सुदूरपश्चिमका लागि खतरा हो’ वरिष्ठ फिजिसियन डा. शुभेषराज  कायस्थले भने।

फागुनको अन्तिम हप्तादेखि लकडाउनको पहिलो दिनसम्म सुदूरपश्चिममा मात्रै डेढलाख मानिस नेपाल भित्रिएका थिए। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशभरी अहिलेसम्म २३ सय मात्र मानिस क्वारेन्टाइनमा बसेका छन्।
 
‘कोरोना स्थानीय संक्रमण भएर दोस्रो चरणमा प्रवेश गरेको छ’, डा. कायस्थ भन्छन्, ‘यो पहिलो चरण भन्दा खतरा हो र यसले समुदायमा सार्ने अथवा तेस्रो चरणको संकेत गर्छ।’

कोरोनाको तेस्रो चरण भनेकै महामारी रहेको चिकित्सकको भनाइ छ।  ‘कोरोना तेस्रो चरणमा गयो भने महामारी हुन्छ, त्यसलाई हाम्रो मुलुकले धान्दैन’, कायस्थ भन्छन्, ‘त्यसैले अझै पनि समय छ, दोस्रो चरणबाट तेस्रोमा जान नदिन कोरोना जाँचको संख्या तिब्र रुपमा बढाउनु पर्छ।’

लकडाउन, क्वारेन्टाइन र आइसोलेसनमा मात्रै राज्यले अल्झिनु नहुने उनको भनाइ छ। 

सेती प्रादेशीक अस्पतालाई पूर्ण रुपमा कोरोना अस्पताल बनाएर अघि बढनुपर्ने डा. कायस्थको भनाइ छ । ‘गाइनो, इमर्जेन्सी शल्यक्रिया जस्ता उपचारका लागि आसपासका अस्पताल तोक्नुपर्छ’, उनले भने, ‘त्यसमा  ढिलाई गर्नु हुदैन।’

सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी पनि सुदूरपश्चिम नेपालमा कोरोनाको इपिसेन्टर बन्न सक्ने बताउछन्। ‘भारतबाट आएका मानिसलाई क्वारेन्टाइन गर्न नसक्ने बेला नै हामी चुकिसक्यौं’, अवस्थी भन्छन्, ‘अब चेकजाँचको ‘स्पिड’ बढाउनुपर्छ।’

सुदूरपश्चिममा शनिबारसम्म १५३ जनाको मात्रै थ्रोट स्वाब जाँच भएको छ। डेढ लाख त भारतबाटै आएका छन्। अझ तेस्रो मुलुकबाट आउनेको संख्या पनि छ। 
तीनजनामा कोरोना संक्रमण देखिएपछि यस क्षेत्रका बासिन्दा डराएका छन्। 

संघ र प्रदेश सरकारको फितलो व्यवस्थापनका कारण, चिकित्सकको मनोबल पनि घटिरहेको छ। सेती अञ्चल अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय, स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षाका सामान अहिलेका लागि पुगे पनि चिकित्सकका लागि अभाव भएको बताउँछन्। 

‘तीनजना फिजिसियन छन, एक जना एनेस्थेसिष्ट, अनी तालिम प्राप्त नर्सिड स्टाफ पनि छैनन्, पटक पटक संघीय सरकारलाई पत्राचार गरिएको छ’, मेसु डाक्टर पाण्डेयले भने, ‘शनिबार मात्रै मन्त्रालयले जनशक्ति के के आवश्यक हो भनेर सोधेको थियो, मैले सबै पठाई सकेको छु।’

त्रिविविका मेसिन ल्याउने प्रयास
विश्वब्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना जाँचका मेसिन, उपकरणको जताततै अभाव रहेका बेला, एक घण्टामा एकसय जनाको थ्रोट स्वाब चेक गर्नसक्ने क्षमताका पाँच वटा मेसिन त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा रहेका छन्।

‘एक मेसिनले दैनिक १० घण्टा काम गरेमात्रै एकदिनमा एक हजारको थ्रोट स्वाब चेक हुनसक्छ, त्यहाँका डाक्टर गिरिराज त्रिपाठीसँग मेरो कुरा पनि भएको छ’ क्षेत्रीय स्वास्थ्य निर्देशक डा. अवस्थीले भने, ‘त्रिभुवन विश्वविद्यालको ल्याबमा पाँच वटा मेसिन रहेको थाहा भएको हो।’

मन्त्रालयले निर्देशन भएमा जनशक्ति सहितका पाँचवटै मेसिन पठाउन सकिने आश्वासन दिएको पनि क्षेत्रीय निर्देशक अवस्थीले बताए। ‘त्रिवि शिक्षा मन्त्रालय अन्तर्गत पर्छ, मैले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई यसबारेमा तुरुन्दै पत्राचार गरिदिन अनुरोध पनि गरिसकेको छु। सबै सकारात्मक देखिएका छन, ढिलो पत्राचार भयो भने महामारी नियन्त्रणमा पनि ढिलो र्भसक्छ’ क्षेत्रीय निर्देशक अवस्थीले भने।

गएको शुक्रबारदेखि दैनिक १० जनाको थ्रोट स्वाब जाँच गर्न सक्ने पिसिआर मेसिन सेती प्रादेशीक अस्पतालमा जडान भएपनि, २३ सय क्वारेन्टाईनमा जमा भएका मानिसका लागि त्यसको क्षमताले धान्नै नसक्ने चिकित्सकहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.