कोरोना कहर : सीमामा फसेका नेपाली भन्छन्- भोकै बस्दाको पीडा बुझिदिने कोही भएन

कोरोना कहर : सीमामा फसेका नेपाली भन्छन्- भोकै बस्दाको पीडा बुझिदिने कोही भएन

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका ८ मल्लादेहीका दीर्घराज जोशी भारतीय बजार झुलाघाट नजिकै रहेको एक विद्यालयमा बसिरहेका छन् । केही दिन ओढारमा बिताएका उनी विद्यालयमा आएको तीन दिनमात्रै भएको छ। जोशीसँगै सो विद्यालयमा ७० जना नेपाली मजदुर बसिरहेका छन् । 

सरकारले सीमा नाका बन्द गरेपछि अलपत्र परेका नेपाली भारतका विभिन्न विद्यालय र मन्दिरका धर्मशालामा बसिरहेका छन् । सर्वोच्च अदालतले सीमामा फसेका नेपालीको तत्काल उद्धार गरी स्वदेशमै क्वारेन्टाइनमा राख्न आदेश दिएको भएपनि सीमामा फसेका नेपालीको उद्धार हुन सकेको छैन् ।

उनले भने, 'हामीले एफएमहरुबाट सुन्यौं । सीमामा फसेका नेपालीको उद्धार हुन्छ भनेर। तर हामीलाई स्वदेश फर्काउनका लागि अहिलेसम्म कसैले केही गरेको छैन् । अर्काको देशमा भोकै बस्दाको पीडा बुझिदिने केहो भएन।?'

सर्वोच्चले आदेश दिएपछि छिटै स्वदेश फर्किन पाइन्छ भनेर मल्लादेहीकै रमेश जोशी पनि खुसी भएको बताए।तर आदेश आएको तीन दिन भइसक्दा समेत स्वदेश फर्काउने विषयमा कसैले केही नगर्दा उनी पनि निराश भएका छन् । उनले भने,' अझै आस मारेका छैनौं । अदालतले हाम्रो पीडा बुझेको छ । अदालतको आदेश सरकारले छिटै कार्यान्वयन गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं । हामी अर्काको देशमा जेनतेन बसिरहेका छौं । सरकारले आफ्ना नागरिकका लागि बेलैमा सोचीदेओस।'

भारतीय क्वारेन्टाइनमा एकै कोठामा कोचिएर बसेका नागरिकले स्वदेश फर्कन चाहेको जामीरपानीस्थित आधारभूत विद्यालयमा बसेका पुर्चौंडीका लोकेन्द्र पार्कीले बताए । उनले भने, 'हामीलाई यहाँ खान, बस्न र पिउने पानीको निकै समस्या छ । सरकारले छिट्टै हाम्रा समस्या बुझेर स्वदेशमै लगेर क्वारेन्टाइनमा राखोस्। आफ्ना नागरिकको जीउधनको सुरक्षाको सरकारको दायित्व हो । हामी यत्ति मात्रै भन्छौं, हामीलाई विदेशी भूमीमा दुःख छ ।'

बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाटमा ४ ठाउँमा नेपाली मजदुरलाई क्वारेन्टाइनमा राखिएको छ । ती चार ठाउँमा अढाइ सय बढी नेपाली मजदुरहरु छन् । घरपरिवार पाल्नका लागि भारतका विभिन्न ठाउँमा पुगेका नागरिक अहिले भोकभोकै बस्नुपरिरहेको पुर्चौंडीका जोगे पार्कीले बताए । उनले भने, 'हामीलाई छिट्टै उद्धार गरियोस् । स्वदेशमै क्वारेन्टाइनमा राखियोस् ।'

झुलाघाटमा मात्रै नभएर एक सय बढी मजदुर पिथौरागढको डिडीहाटमा फसेका छन् । आफूहरु जंगमा पालमूनी बसेको बैतडीको पुर्चौंडी पुस्कर बोहराले बताए । उनले फोनमा भने, 'हामीलाई स्वदेश फर्काउन पहल गरिदिनुहोस् । हामी मजदुरलाई खानबस्नकै समस्या छ । हामी स्वदेशको क्वारेन्टाइनमा एक महिनासम्म पनि बस्न तयार छौं ।'

सीमामा फसेका नेपालीलाई स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने सरकारलाई आदेश दिएको भएपनि जिल्लास्तरमा भने कुनै परिपत्र आएको छैन् । सरकारले परिपत्र गरेमा मात्रै सीमापारीका नागरिकलाई नेपाल भित्र्याउन सक्ने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । 

उनले भने,'सरकारले निर्णय गरेर स्थानीय प्रशासनलाई परिपत्र गरेमात्रै सीमापारी रहेकालाई नेपाल भित्र्याउन सकिन्छ । अहिलेसम्म त्यस्तो परिपत्र आएको छैन् । परिपत्र नआउँदासम्म केही गर्न सकिदैन् ।'

सीमाका मजदुरलाई स्वदेश फर्काउन सांसदको माग 

सुदूरपश्चिमका पहाडि जिल्ला बैतडी, बझाङ र दार्चुलाबाट निर्वाचित संघीय सांसदले सीमामा रहेका नेपाली मजदुरलाई तत्काल उद्धार गरी स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपप्रधान तथा रक्षामन्त्री एवं कोभिड १९ रोकथाम उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई सांसदले बुधबार भेटेर भारतीय सीमामा रहेका नेपालीलाई अलिम्ब स्वदेश फर्काउन माग गरेका हुन् । 

बैतडीका सांसद दामोदार भण्डारी, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना र बझाङका सांसद भैरवबहादुर सिंहले संयुक्त रुपमा भेटघाट गरी सीमामा रहेका नेपालीलाई स्वदेश फर्काई स्वदेशकै क्वारेन्टाइनमा राख्न आग्रह गरेको सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए।
 
यस्तै सांसदले सुदूरका पहाडि जिल्लामा कोरोनाको जोखिम रोकथाम तथा न्यूनीकरणका लागि स्वाब संकलन लगायतका कार्य अगाडि बढाउन पनि आग्रह गरेका उनले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.