डोटीमा २१३ जनाको रिपोर्ट नेगेटिभ
डोटी : डोटीका बिभिन्न क्वारेन्टाइनमा बसेका दुई सय १३ जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ देखिएको छ। शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय डोटीको नेतृत्वमा बिभिन्न स्थानीय तहहरुमा गएको स्वास्थ्यकर्मीको टिमले र्यापिड टेष्ट किट (RDT) बाट गरेको जाँचमा सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्बन्धी सम्पर्क व्यक्ति सूर्य बिष्टले जानकारी दिएका छन्।
बुधबार मात्रै डोटीबाट तीन सय ३० जनाको स्वाब परिक्षणका लागि स्वाबको नमुना संकलन गरी काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो। उक्त रिपोर्ट भने आएको छैन। सो बाहेकका व्यक्तिहरुको र्यापिड टेष्ट किट (RDT) बाट जाँच गरिएको बताइएको छ। दुई सय १३ जनामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको नजिक रहेर खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु समेत रहेका बिष्टले बताए।
र्यापिड टेष्ट किट (RDT) बाट जाँच भएका मध्ये आदर्श गाउँपालिकाबाट २५ जना, सायल गाउँपालिकाबाट २५ जना, बडीकेदार गाउँपालिकाबाट ६३ जना र बोगटान फुड्सिल गाउँपालिकाबाट १०० जना रहेका छन्। र्यापिड टेष्ट किट (RDT) बाट गरिने जाँचको रिपोर्ट १५/२० मिनेटमै आउने जिल्ला स्वास्थ्यले जनाएको छ।