कोरोना कहर : सुर्नया गाउँपालिकामा टोल फ्रि नम्बर
बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रण योजना अन्तर्गत टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ।
गाउँकार्यपालिकाको बैठकले केही दिन अघि टोल फ्रि नम्बर राख्ने निर्णय गरेको थियो। कोरोना भाइरसका कारण समस्या परेका नागरिकले सो नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए।
पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०९५५२००२ मा फोन गरेर गाउँपालिकाबासीले कोरोना भाइरसका कारण परेको समस्याका बारेमा जानकारी गराउन सक्नेछन्। गाउँपालिकाबासीले रेकर्ड गराएका सुझाव, गुनासा र समस्यालाई सुनेर ती समस्याको समाधानका लागि पहल गरिने अध्यक्ष विष्टले बताए।
यो नम्बरमा कोरोना भाइरस सम्बन्धिका समस्या मात्रै राख्न गाउँपालिकाले आग्रह गरेको गाउँपालिकाका रोजगार संयोजक सुरेन्द्रसिंह धामीले जानकारी दिए। सुर्नया गाउँपालिकाले कोरोनाविरुद्ध लड्न २० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !