कोरोनाले 'भिटौलो' प्रभावित

कोरोनाले 'भिटौलो' प्रभावित

बैतडी : जिल्लाको सुर्नया गाउँपालिका-६ का मुरलीप्रसाद अवस्थीले चैत दोश्रो साता आफ्नी दिदि भेट्न जाने योजना बनाएका थिए। प्रत्येक वर्ष दाजुभाईले दिदि बहिनीसँग भेटघाट गर्ने चलन अनुसार उनले 'भिटौला' जाने तयारी गरेका थिए। तर कोरोना भाइरसको जोखिम कारण देशमा लकडाउन गरिएपछि उनले भिटौला जाने योजना स्थगित गरे।

मुरलीप्रसाद जस्तै सुदूरपश्चिमका बैतडीको धेरै दाजुभाईको दिदि बहिनीहरुलाई भेट्ने योजना यो वर्ष अधुरो रहेको छ। कोरोनाको जोखिम बढी हुन सक्ने भएकाले लकडाउन भएपछि यो वर्ष भिटौलो पनि प्रभावित भएको दशरथचन्द नगरपालिका-१ गुरुखोलाका देवदत्त भट्टले बताए। उनले भने 'हाम्रो यतातिर चैतको महिना माइती पक्षले छोरी बहिनीहरुलाई भेट्ने चलन छ। कोसेली लगेर छोरी बहिनीहरुको घर जाने चलन छ। तर यो वर्ष कोरोनाले भिटौलो प्रभावित भएको छ।'

सुदूरपश्चिमका बैतडी, दार्चुलालगायतका जिल्लाहरुमा चैतको महिनाभरी दाजुभाईले विभिन्न कोसेलीसहित दिदि बहिनीहरुलाई भेट्ने चलन रही आएको छ। माइती पक्षका तर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको भए पनि यो वर्ष लकडाउनका कारण भिटौला कोही नआएको दशरथचन्द नगरपालिका-२ की पार्वती बोहराले बताइन्। उनले भनिन् 'अरु वर्ष माइती पक्षबाट भेट्ने कहिले आउलान् भनेर बाटो हेरिन्थ्यो। यो वर्ष कोरोनाले त्यो सम्भव नभएपछि फोनबाटै कुराकानी गरेर सम्झना मेटियो।' परापूर्वकालदेखि नै यो क्षेत्रमा चैतको महिना माइती पक्षले छोरी बहिनीहरुलाई भेटघाट गर्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए। उनले भने 'पहिला पहिला सञ्चारका साधनहरु पनि थिएनन्। सानै उमेरमा बिहे गरिदिने चलन थियो। माइती पक्षको छोरी बहिनीहरुलाई नियास्रो पनि लाग्ने गरेको थियो। त्यसैले माइती पक्षले कोसेलीसहित भेटघाट गर्ने चलन चलेको हो। यो चलन अहिले पनि छ। तर यो वर्ष कोरोनाका कारण प्रभावित भएको छ।'

चैतलो पनि सुनिएन् 
वसन्त ऋतुको आगमनसँगै चैतको महिना दमाईहरुले घरघरमा गएर हुड्को बजाएर चैतलो गाउने चलन पनि यो क्षेत्रको पुरानो चलन हो। तर यो वर्ष कोरोनाका भाइरसको जोखिमका कारण चैतलो समेत सुनिएको छैन्।

वसन्त ऋतुमा न्याउली कोइलीहरुको आवाज गुञ्जायमान हुने र त्यसैमा हुड्कोको आवाजसहित चैतलो सुन्दा धेरै मन भावविह्वल हुने गरेको थियो। चैतलोले गुञ्जायमान हुने गाउँहरु यो वर्ष लकडाउनका कारण सुनसान भएका पाटनका गोविन्दप्रसाद पन्तले बताए। उनले भने 'चैतलो पछिल्लो समयमा लोप हुँदै पनि गइरहेको छ। तर यो वर्ष त लकडाउनका कारण कतै सुन्न पाइएन्।'

लकडाउनका कारण यो वर्ष चैतलो गाउन नपाएको सुर्नया-५ का जैमल दमाईले बताए। उनले भने 'अरु वर्षको जस्तो यो वर्ष गाउन पाइएन्। एक दुई ठाउँमा गए पनि सुन्ने मान्छेहरु पनि त्यति भेटिएनन्। यो प्रतिको आकर्षण पनि घट्दै गएको छ।' चैतलोमा परापूर्वकालमा चैतको महिनामा दाजुभाईले दिदि बहिनीहरुलाई भेट्ने गरेको प्रसंग रहेको उनले बताए। उनले भने 'दाजुभाईले दिदि बहिनीलाई नभेट्दा निराश भएको, जसको दाजुभाई छैनन् त्यस्ता दिदीबहिनीहरुलाई चैतको महिना बिताउन मुस्किल भएका गाथाहरु चैतलोमा समेटिन्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.