कोल्ड स्टोरमा छापा मारेर ३८० बोरा दाल बरामद
वीरगन्ज : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको यादव कोल्ड स्टोरमा प्रहरीले शनिबार छापा मारेर ३ सय ८० बोरा दाल नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा लकडाउनले समस्यामा परेकालाई राहतमा वितरण गरिएको दाल गुणस्तरहीन रहेको गुनासो आएको थियो ।
बसतपुरमा लकडाउनले समस्यामा परेकालाई शुक्रबार उपमहानगरपालिकाले वितरण गर्न लगेको २५ बोरा दाल नियन्त्रणमा लिएर वडाध्यक्ष महम्मद इमामुदिन ठकुराइसँग सोधपुछ गर्दा वडा अध्यक्ष ठकुराइले यादव कोल्ड स्टोरबाट दाल खरिद गरेको बताएका थिए । त्यसपछि शनिबार प्रहरीले यादव कोल्ड स्टोरमा छापमा मारेर त्यहा भण्डारण गरेर राखिएको ३ सय ८० बोरामा रहेको करिब १ सय क्विन्टल दाल अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीले दाल बरामद गरिएको कोल्ड स्टोरमा शीलबन्दी पनि गरिदिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा शनिबार यादव कोल्ड स्टोरमा छापा मारेर ३ सय ८० बोरा दाला नियन्त्रणमा लिनुका साथै कोल्ड स्टोर शिलबन्दी पनि गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।
बरामद गरिएको दालको नमुना परीक्षणका लागी नेपाल खाद्य तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाइएको जानकारी दिँदै उनले भने, ‘प्रयोगशालाबाट रिपोर्ट आएपछि त्यसकै आधारमा कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ ।'
प्रहरीले शनिबार छापा मारेको यादव कोल्ड स्टोर, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवका काकाका छोरा रविन्द्रप्रसाद यादवको नाममा दर्ता छ । कोल्ड स्टोरका संचालक रवीन्द्र प्रसाद यादवले भने कोल्ड स्टोरमा रहेको दाल वीरगन्जका एक व्यापारीको भएको बताएका छन् ।
वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण शर्माले कोल्ड स्टोर भाडामा लिएर ताज महल ब्रान्डको अरवा दाल कोल्ड स्टोरमा राखेर बिक्री गर्दै आएको यादवले बताए ।
प्रतिक्रिया दिनुहोस !