छैन ‘बिसु’को रौनक
बैतडी : सुदूरपश्चिमका पहाडी जिल्लामा नयाँ वर्षलाई ‘बिसु’पर्वको रुपमा मनाइन्छ । तर यो वर्ष बैतडीसहितका पहाडी जिल्लाहरुमा बिसुको कुनै रौनक छैन। कोरोना भाइरसका कारण देश नै लकडाउन भएकाले बिसुको कुनै रौनक नभएको दशरथचन्द नगरपालिका १ का विष्णुदत्त भट्टले बताए । उनले भने, ‘लकडाउनका कारण गाउँघर पनि सुनसान छ । परदेशिएका पनि घर आउन पाएका छैनन् । त्यसैले गाउँघरमा बिसुको रौनक छैन ।’
जिल्लाको सुर्नया गाउँपालिका ६ की हरिना अवस्थीले पनि गाउँमा ‘बिसु’को कुनै रौनक नभएको बताइन् । उनले भनिन्, ‘कमाउन भनि गएका छोरो परदेशबाट आउन पाएन । विदेशिएका बिसुमा घरमा आउँथे । गाउँघरमा रमाइलो हुन्थ्यो तर अहिले कुनै रौनक छैन।’
‘बिसु’मा घर फर्कने बाचासहित परदेश गएका श्रीमान भारतीय क्वारेन्टाइनमा दुःखका साथ बसिरहेकाले घरमा बिसु आएको कुनै आभाष नभएको पुर्चौंडी ८ की महना जोशीले बताइन् । उनले भनिन्, ‘नयाँ वर्षमा राम्रो खाउँला, नयाँ लुगा लिएर आउँछु भनेर गएका श्रीमान कोरोना कारण घर नै आउनु भएन । भारतीय क्वारेन्टाइनमा दुःख गरेर बसिरहनु भएको छ । त्यसैले बिसु आएको कुनै आभाष छैन।’
पुर्चौंडी नगरपालिका ३ की लालमती पार्की पनि नयाँ वर्ष अर्थात बिसुको रौनक नभएको बताउँछिन् ।‘घरको मुख्य मान्छे नै भारतीय क्वारेन्टाइनमा छन् । बिसु पर्व हामीलाई आए नआएको मतलब नै छैन’,उनले भनिन्।
बिसु पर्वका बेला गुञ्जायमान हुने बैतडीका गाउँघर यो वर्ष सुनसान छन् । बिसु अर्थात नयाँ वर्षको दिन सुदूरपश्चिममा विभिन्न स्थानीय परिकार बनाएर खाने, सबै परिवारका सदस्य एक ठाउँमा बसेर रमाइलो गर्ने चलन रही आएको भए पनि यो वर्ष कोरोनाका कारण बिसुको कुनै चहलपहल नभएको पुर्चौंडीका अनिरुद्र जोशी बताउँछन् । उनले भने, ‘यो पर्वमा देवरले भाउजूलाई, नन्दले भाउजूलाई सिस्नुपानी लगाएर खेल्ने चलन छ । तर यो वर्ष ती कुनै पनि रमाइलो कार्यक्रम नहुने भएका छन् । यसकारण गाउँमा बिसुको कुनै चहलपहल छैन ।’
बिसु जात्रा स्थगित
कोरोना भाइरसका कारण बैतडीका विभिन्न ठाउँमा लाग्ने बिसु जात्रा स्थगित भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित सिगास मन्दिरमा लाग्ने बिसु जात्रा, दशरथचन्द नगरपालिका १ स्थित महारुद्र मन्दिरमा लाग्ने बिसु जात्रा, सुर्नया ४ सनसेरीमाण्डौंमा लाग्ने बिसु जात्रा पनि स्थगित भएका छन् ।
प्रतिक्रिया दिनुहोस !