कोरोना प्रभाव : भीडभाडमा बिसु मनाउने नपाइने

कोरोना प्रभाव : भीडभाडमा बिसु मनाउने नपाइने

डोटी : सुदूरपश्चिम बासीको मौलिक सांस्कृतिक पर्वको रुपमा मनाईंदै आएको बिसु पर्व यसपाली भने क्वारेन्टाइनमा मनाइने भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणले विश्‍व नै आक्रान्त भइरहेका बेला नेपाल समेत कोरोना संक्रमणबाट अछुतो छैन। देश लकडाउनमा गुज्रिरहेको छ ।

अहिलेसम्म कोरोना(कोभिड-१९) संक्रमणबाट सुदूरपश्चिम प्रदेश बढी प्रभावित छ। त्यसैले पनि सुदूरपश्चिमबासी त्रासमा बाँचिरहेका छन् । लकडाउनका बीच आएको बिसु पर्व घरभित्र सीमित हुने भएको हो । कोरोना(कोभिड-१९) को त्रासले र लकडाउनका कारण अहिले सुदूरपश्चिमका पहाडि जिल्ला सुनसान देखिएका छन् ।

स्थानीय तहले बिसु पर्व घरमै बसेर मनाउन स्थानीय बासीलाई अनुरोध गरेका छन् ।डोटीका सबैजसो स्थानीय तहहरुले विज्ञप्ति नै जारी गर्दै बिसु पर्व घरभित्रै मनाउन अनुरोध गरेका हुन् । विशेषगरी सुदूरपश्चिमका पहाडि जिल्लामा धुमधामसाथ मनाइने यो पर्व कोरोना भाइरस (कोभिड-१९) का कारण घरभित्रै मात्र मनाउन स्थानीय सरकारले अनुरोध गरेका हुन् ।

डोटीको सायल गाउँपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, 'नजिकै आइरहेको बिसु पर्व (नयाँ वर्ष २०७७को पहिलो दिन) मा मेला र भेला नगरी घरभित्रै बसेर मनाउन हुन सबैलाई अनुरोध गरिन्छ ।' विज्ञप्तिमार्फत अनावश्यक भीडभाड नगर्न र सामाजिक दूरी कायम राख्न पनि अनुरोध गरिएको छ ।

त्यस्तै, बडीकेदार गाउँपालिकाले पनि विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरूलाई विसु पर्वमा धेरै तडकभडक नगर्न र आ-आफ्नै घरभित्र सुरक्षित रही मनाउन हुन अनुरोध गरेको छ । यसरीनै सबै स्थानीय तहहरुले आ-आफ्ना स्थानीयबासीलाई अनुरोध गरेको छ ।

भारतमा मजदुर गर्दै आएका सुदूरपश्चिम बासी बिसु पर्व मनाउने भन्दै घर फर्केका थिए । तर उनीहरु अहिले कोरोना संक्रमणका कारण सयौंको संख्यामा क्वारेन्टाइनमा बसिरहेका छन् भने हजारौंको संख्यामा सुरक्षित साथ आ-आफ्नो घरमै बसिरहेका छन् ।

कयौंको समय यसपालिको बिसु पर्वमा क्वारेन्टाइनमै बित्ने भएको छ भने कयौंको घरभित्रै बसेर ।'बिसु पर्व मनाउने भनेर घर आएको थिए,' क्वारेन्टाइनमा बसेका नारायण महराले भने, 'यसपालिको बिसु क्वारेन्टाइनमै हुने भयो ।' 'बिसु पर्वमा गाउँमा रमाइलो हुने गर्दथ्यो, लक्ष्मी दमाईले भनिन्, 'चार वर्षपछि बिसु पर्व मनाउने भनेर भारतबाट घर आए तर यसपालिनै यस्तो भयो ।'
 
यसरी मनाइन्छ बिसु 

विशेषगरी सुदूरपश्चिममा बिसु पर्व हरेक वर्षको अन्तिम दिन र नयाँ वर्षको पहिलो दिनगरी दुई दिनसम्म मनाउने प्रचलन रहेको छ । बिसुपर्व मनाउने तयारी भने केही दिन अगाडि देखिनै गर्ने गर्दछन् । बिसु पर्वको अवसरमा गाउँघरतिरका घरहरू रातो माटो र कमेरो माटो पोतेर चिटिक्‍क पार्ने गरिन्छ भने पक्की घरमा पेन्ट लगाएर सुन्दरता थप्ने काम गरिन्छ । 

पर्वमा आफन्तलाई निम्तो दिएर घरमा बोलाउने गरिन्छ । वर्षको अन्तिम दिन राती सेल-पुरीलगायत अन्य मिष्ठान्नका परिकार बनाएर सबै एक ठाउँमा बसेर खाने चलन रहेको छ। वर्षको पहिलो दिन देवर-भाउजू, नन्द-भाउजू र साली-भिनाजुहरूले एक-आपसमा सिस्नुपानी छ्यापेर बिसु पर्व मनाइने गरिन्छ । वर्षको पहिलो दिन (बिसुको दिन) सिस्नो लगाउँदा शरीरमा भएका रोगव्याधहरू समेत हराएर जाने विश्वास गरिएको छ ।

यस पर्वको अवसरमा वर्षको पहिलो दिन विभिन्न स्थानमा मेला-जात्रा, पुतला नाच, स्याल बाघ खेल र मनोरन्जनात्मक कार्यक्रम हुने, अन्य खेलकुद प्रतियोगिता आयोजना गरिने प्रचलन रहेको छ । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु पर्वको दिनमा आफैँले शरीरमा सिस्नो लगाउने गरिन्छ । कामको सिलसिलामा बाहिर रहेका बिसु मनाउन घर आउने भएकाले यस पर्वलाई परिवारिक जमघटको रुपमा पनि लिइन्छ ।

त्यसो त बिसु पर्वलाई सावधानीको पर्वको रुपमा पनि सुदूरपश्चिमवासीले लिने गरेका छन् । गर्मी र वर्षादमा अनेक रोग तथा महामारीहरू फैलन सक्ने भएका कारण यो पर्वले खानपान र सरसफाईमा समेत ध्यान दिन सन्देश दिन्छ । 'मरुला भनेर बिसु खानु, बाँचे भनेर वल्के खानु' भन्ने भनाइ सुदूरपश्चिममा प्रख्यात छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.