क्वारेन्टाइनमा बसेका १ सय १२ जना घर फर्किए
दैलेख : घरपरिवार छोडेर अर्काको देशमा मजदुरी गर्न जाने रहर त कसलाई पो हुँदो हो । तर, परिवारको गुजाराका लागि जानैपर्ने बाध्यता छ । त्यही बाध्यताबाट पछि हट्न नसकेपछि दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–५ का ४० वर्षीय डिल्लीप्रसाद रेग्मी भारत पसे । घरपरिवार छोरा छोरीको माया मनभरि थियो । यस्तैमा कोरोना भाइरसको संक्रमण फैलिएपछि उनी गाउँ फर्कने निधो गरे ।
मजदुरी छोडेर उनी जन्मथलोतिर लागे । तर, जन्मथलो पुगेर पनि घर जान भने पाएनन् । भारतबाट फर्किएकाहरु दुई हप्तासम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले नगरपालिकाले जनता मावी बस्तेकोटमा निर्माण गरेको क्वारेन्टाइनमा दुई हप्तासम्म बसे । दुई हप्तापछि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि घर जान पाउँदा उनी निकै खुसी छन् ।
भारतका विभिन्न ठाउँबाट आएर चामुण्डाविन्द्रासैनी नगरपालिकाले विभिन्न विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका एक सय १२ जना आइतबार घरतर्फ लागेका छन् । उनीहरु चैत्र १७ गते गाउँ आइपुगेका थिए । कर्णाली प्रदेश प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना नदेखिएपछि क्वारेन्टाइनमा राखिएको दुई हप्तापछि उनीहरुलाई घर पठाइएको हो । पाँच वटा क्यारेन्टाइनमा बसेका एक सय २० जनामध्ये एक सय १२ जनलाई घर पठाइएको नगरपालिकाले जनाएको छ । बाँकी आठ जनालाई क्वारेन्टाइनमा निगरानीमा राखिएको छ ।
‘क्वारेन्टाइनमा रहँदा खान बस्न राम्रो व्यवस्थास थियो, संक्रमण नभएको पुष्टि भएपछि घर जान लागेका छौँ, अब त बाँचियो भन्ने लागेको छ,’ ४२ वर्षीय प्रजापती जैसीले भने । उनीहरुले क्वारेन्टाइनमा छँदा कोरोना भाइरसबाट बच्ने उपाएबारे समेत जानकारी पाएका छन् । जानकारी पाएको ज्ञान परिवार र छिमेकीलाई सिकाउने उनीहरुको भनाइ छ ।
भारतबाट आएकालाई नगरपालिकाले कर्णाली जनचेतना आधारभूत विद्यालय पालेतडा, भैरव माध्यमिक विद्यालय डौसुर, ओमकोट आधारभूत विद्यालय ओमकोट, जनता माध्यमिक विद्यालय बस्तेकोट र चामुण्डा क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । नगरपालिकाका मेयर सुर्यबहादुर शाहीले घर फर्किए पनि थप दुई हप्ता घरकै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । ‘नगरपालिको प्रत्येक वडामा एक स्वास्थ्य अभियन्ता खटाउँछौँ, प्रत्येक व्यक्तिको नाम, मोबाइल नम्बर वडा कार्यालय र नगरपालिकामा राख्ने छौँ,’ मेयर शाहीले भने । क्वारेन्टाइनबाट घर फर्केका र अन्य स्थानीयलाई जंगफुडभन्दा स्थानीय स्तरमै उत्पादन भएका खानेकुरा खान आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !