कोरोनाविरुद्ध लड्न कूटनीतिज्ञको ढाडस

कोरोनाविरुद्ध लड्न कूटनीतिज्ञको ढाडस

काठमाडौं : मित्र राष्ट्रका कूटनीतिक प्रतिनिधिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा नेपालसँग सहकार्य गर्ने बताएका छन्। उनीहरूले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै नेपालमा पर्न आउने कोरोना महामारीसँग जुध्न आफ्नो साथ रहने उल्लेख गरेका हुन्।

चीनको हुपई प्रान्तबाट फैलिएको कोरोनाले विश्व आक्रान्त छ। नेपालमा तीन महिनापछि प्रभाव परे पनि लकडाउनमा रहेर लडिरहेको अवस्थामा कूटनीतिक ढाडस मिलेको हो। छिमेकीसहित अन्य राष्ट्रका राजदूतहरूले विपद्मा ढाडस दिँदै नेपालको संकटमा सँगै उभिने बताएका छन्।

अमेरिकी राजदूत ¥यान्डी बेरीले उज्जवल भविष्य, चमक र स्वस्थ जीवन रक्षाको लडाइँमा अमेरिका सँगै उभिने बताएका छन्। महामारीको अवस्थामा एकअर्कामा हुने सहकार्य महत्वपूर्ण रहने उनले उल्लेख गरेका छन्। उनले ट्विटरमार्फत भिडियो सन्देश जारी गरी चुनौतीपूर्ण समय रहेको र अमेरिका स्वयं यसमा लडिरहेको बताएका छन्।

अमेरिकी नागरिकप्रति नेपालीले दर्शाएको सद्भावप्रति उनले आभार प्रकट गरेका छन्। अमेरिकी नागरिकका लागि नेपालमा रहेर पनि प्रार्थना गरिरहेको सन्देश पाउँदा नेपालीप्रति आफू नतमस्तक भएको संकेत उनले गरेका छन्। यो वर्ष सुख, समृद्धि तथा सफलताले भरियोस् भन्दै उनले शुभकामना दिएका छन्।

चिनियाँ राजदूत होउ यान्छीले स्वस्थ, सुख, शान्ति तथा समुन्नतिको शुभकामना व्यक्त गरेकी छन्। ‘कोरोना भाइरसविरुद्धको लडाइँ विजय गर्नुहुनेछ भन्नेमा म आशा गर्दछु’, उनले भनेकी छन्, ‘नयाँ वर्षको शुभकामना।’ उनले तीन दिनअघि पनि नेपाललाई साथ दिने बताएकी थिइन्। मिलेर सँगै लडे कोभिड जित्न सकिने उनको भनाइ थियो। चिनियाँ र अमेरिकी राजदूतको शुभकामनामा अन्य कूटनीतिक निकायका प्रतिनिधि र नेपालीले प्रतिक्रिया जनाएका छन्।

भारतीय दूतावासले जटिल परिस्थितिमा सहकार्य गरिने जनाएको छ। ‘इन्डिया इन नेपाल’ ट्विटर ह्यान्डलमार्फत दूतावासका तर्फबाट शुभकामना दिइएको छ। भारतीय राजदूत विनयमोहन क्वात्राले आफ्नो ट्विटर ह्यान्डल भने अपडेट गरेका छैनन्।

बेलायतकी राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको कठिन समयमा पनि सबैले आफ्नो तवरबाट नयाँ वर्षलाई स्वागत गर्न सक्ने विश्वास लिएको बताएकी छन्। कोभिड–१९ विरुद्धको लडाइँमा बेलायत नेपालसँगै उभिने उनले उल्लेख गरेकी छन्। नेपाली भाषामै ट्विट गरेकी उनले नेपाललाई सहयोग गर्दै आएको जनाएकी छन्।

बेलायती अन्तर्राष्ट्रिय सहयोग निकाय डीएफआईडीले कोरोना महामारीबाट बच्न पूर्वतयारी र नियन्त्रण कार्यलाई सबलीकरण गर्न बेलायती पाउन्ड ८ लाख २ हजार (करिब साढे १२ करोड रुपैयाँ) सहयोग गरेको छ। निकासा गरिएको उक्त सहयोगले नेपालको प्राविधिक विज्ञता वृद्धि गर्ने डीएफआईडीले एक दिनअघि जनाएको थियो। संक्रमण रोकथाम तथा नियन्त्रण, सूचना व्यवस्थापन तथा बिरामीको चिकित्सकीय व्यवस्थापन सुधारमा ध्यान केन्द्रित गर्ने गरी विश्व स्वास्थ्य संगठनलाई परिचालन गर्न सघाउ पु¥याइएको पनि उसले जनाएको छ। बेलायतले नेपालमा प्रयोगशाला सुदृढीकरणमा सहयोगका लागि पब्लिक हेल्थ इङ्ल्यान्डबाट एक ‘माइक्रोबायलोजिस्ट’लाई नेपालमा अल्पकालीन काजमा खटाउन सहयोग गरेको पनि जनाइएको छ।

‘यस महामारीले निम्त्याएको अप्रत्याशित चुनौती सामना गर्न संयुक्त अधिराज्यको शीघ्र प्रतिबद्धताले नेपाल सरकारसँग हाम्रो निकट सम्बन्धलाई प्रतिविम्बित गरेको छ’, डीएफआईडी नेपालकी कार्यालय प्रमुख लिसा होननले भनिन्, ‘जोखिममा रहेकालाई संरक्षण गर्ने विषयमा ध्यान केन्द्रित गर्दै नेपालको तात्कालिक तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न हामी सहयोग जारी राख्नेछौं।’

युरोपेली महासंघ (ईयू)की राजदूत भेरोनिका कोडीले कोरोनाविरुद्ध लड्न र नेपालको विकासका लागि सधैं साथमा हुने उल्लेख गरेकी छन्। युरोप आफैं संक्रमणको मारमा परेर पनि उनीहरूले सहयोगको प्रतिबद्धता जाहेर गरिरहेका छन्। ईयूमार्फत सहयोग पनि जारी छ।

अस्ट्रेलियाली राजदूत पिटर बडले घरमै सुरक्षित रहन आग्रह गरेका छन्। आफ्ना नागरिकलाई फिर्ता पठाउन नेपाल सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका उनले कोभिडविरुद्ध साथमा उभिने जनाएका छन्।

राष्ट्रसंघकी आवासीय प्रतिनिधि भेलरी जुलियन्डले नयाँ तरिकाले माया र सद्भाव बाँडेर अघि बढ्दै यो कठिन परिस्थितिलाई पार लगाउन सकिने उल्लेख गरेकी छन्। अन्य राजदूतले पनि परराष्ट्रसचिव शंकरदास वैरागीसहित अन्य डेस्क प्रमुखलाई सन्देश पठाउँदै कठिन परिस्थितिमा नेपालको साथमा उभिने जनाएका छन्। खाडी मुलुकका राजदूतले पनि यस्तो सहकार्यमा साथ दिने बताएका जनाएका छन्। कतिपय मुलुकका कार्यकारी प्रमुख तथा कोभिड–१९ लाई नजिकबाट नियाल्नेसँग प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पालैपालो टेलिफोन वार्ता गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.