बैतडीमा ३९० जनाको कोरोना रिपोट 'नेगेटिभ'
बैतडी : विभिन्न क्वारेन्टाइनमा रहेका ३ सय ९० जनाको थ्रोट स्वाब परीक्षण रिपोट नेगेटिभ आएको छ । गत चैत २८ गते जिल्लाका विभिन्न स्थानमा संकलन गरिएको थ्रोट स्वाबको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'थ्रोट स्वाब संकलन भएका ४ सय २५ मध्ये ३सय ९० जनाको रिपोट आएको छ । ७ जनाको फेरी थ्रोट स्वाब संकलन गर्नुपर्ने देखिएको छ। २८ जनाको रिपोट आउन बाँकी छ ।'
कोभिड १९ उच्चस्तरीय समितिको समन्वयमा हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीको टोली आएर पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाब संकलन गरेको थियो ।
पुर्चौंडीमा ३सय ४३ जना र पञ्चेश्वर ८२ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो । कोरोना रिपोट नेगेटिभ आएका सबैलाई एकहप्ते होम क्वारेन्टाइनमा बस्ने गरी क्वारेन्टाइनबाट घर फर्काउने तयारी समेत भट्टले बताए ।
उनले भने, 'थ्रोट स्वाबको रिपोट नेगेटिभ आएपछि अब उनीहरुलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्ने हिसाबले घर पठाउने तयारी गरेका छौं । यसका लागि सम्बन्धित पालिकाहरुसंग छलफल भइरहेको छ ।'
जिल्लामा यसअघि १३७ जनाको र्यापीड डाइग्नोस्टिक टेस्ट गर्दा उनीहरुको रिपोट पनि नेगेटिभ आएको थियो । भारतका विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको थ्रोट स्वाबको परीक्षण र र्यापीड टेस्ट गरिएको हो ।
प्रतिक्रिया दिनुहोस !