गाउँ छिरे १० हजार जरिवाना

गाउँ छिरे १० हजार जरिवाना

सुर्खेत/मुगु : कोरोनाबाट जोगिन कर्णालीको अधिकांश गाउँका स्थानीयले नयाँ मान्छे प्रवेशमा रोक लगाएका छन्। त्यसमाथि मुगुको मुगुम कार्मारोङका लामा समुदायले त अनुमतिबिना गाउँ छिर्नेलाई १० हजार रुपैयाँ जरिवाना तोकेका छन्।

यससँगै नौवटै वडाका जोकोही पनि अनुमतिबिना अर्को गाउँमा जान नपाउने भएका छन्। त्यसरी आउजाउ गरे स्थानीयले नै क्वारेन्टाइनमा राख्नुका साथै नगद जरिवाना तोक्ने निर्णय गरिएको वडा नम्बर ८ का अध्यक्ष धोर्वा तामाङले बताए।

उनका अनुसार गाउँ छिर्ने सबै मूलबाटा बार लगाएर बन्द गरिएका छन्। बार लगाइएको ठाउँमा आलोपालो गरी स्थानीय चौकीदार बस्ने गरेका छन्।

स्थानीयको निर्णयमा वडापालिका र गाउँपालिकाले समर्थन जनाएका छन्। गाउँपालिकाले कोरोना सचेतना फैलाउने र लकडाउन कार्यान्वयनबारे अनुगमन गरिरहेको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए। उनका अनुसार खाद्यान्न पर्याप्त रहेकाले खाद्य संस्थान र व्यापारीलाई तत्काल ढुवानी रोक्न जिल्ला प्रशासनलाई अपिल गरिएको छ।

पाहुनालाई बन्देज

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० काक्रेबिहार टोलवासीले पाहुना आउजाउमा रोक लगाएका छन्। यस टोलमा कुनै पनि व्यक्ति कोरोना संक्रमित नभेटिएकाले पाहुना आउँदा वा जाँदा संक्रमण हुन सक्ने भन्दै उनीहरूले सावधानी अपनाएका हुन्।

‘लकडाउनको पालना गर्दै हामी घरभित्रै बसेका छौं। यो संक्रमणकालीन समयमा पाहुना जान र आउन उपयुक्त छैन’, स्थानीय विमला पाण्डेले भनिन्, ‘आफू बच्न र अरूलाई बचाउन टोलमा नयाँ मान्छे भित्रिन नदिने निधो गरेका हौं।’

कोरोना संक्रमण त्रासका कारण जुम्ला चन्दननाथ-६ का स्थानीयले काँडेतार लगाएर बन्द गरेको गाउँ छिर्ने बाटो।  तस्बिर : अन्नपूर्ण

स्थानीयवासी अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनन्। टोलमा कोही नयाँ मान्छे देखे उसको सम्पर्कमा पनि जाँदैनन्। स्थानीय मणिकृष्ण डाँगीले भारतसहित अन्य देशबाट भित्रिएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सम्बन्धित निकायमा खबर गर्ने अभियान चलाइएको बताए।

‘यस्तो महामारीमा आफू बाँच्न र अरूलाई बचाउन सकियो भने पाहुना जाउजाउ गर्ने दिन छँदै छन्’, स्थानीय विमल वलीले भने, ‘यो समय टोलमा पाहुना आउजाउ गरेकै कारण कोरोना संक्रमणले ग्रस्त बनाउन सक्छ। त्यसैले सचेत भएका हौ ं।’

मूलबाटा बन्द

जुम्लाको चन्दननाथ नगरपालिका-६ सहित दर्जनौं गाउँ छिर्ने बाटो बन्द गरिएका छन्। जिल्ला सदरमुकाम खलंगासँगै जोडिएको छिनामा जथाभावी प्रवेश गर्न थालेपछि स्थानीयले स्वस्फूर्त मूलबाटो बन्द गरेको भक्ति रावलले बताए। उनका अनुसार यसको ध्येय भनेको गाउँमा नयाँ मान्छे सहजै आउन नपाऊन् भन्ने हो।

‘काँडेतारको बार लगाएर गाउँ छिर्ने मूलबाटो बन्द गरेका छौं। गाउँमै बसिरहेकाबाहेक अन्य कसैलाई पनि गाउँ छिर्न अनुमति छैन’, स्थानीय अनुप थापाले भने, ‘नजिकैका छिमेकी गाउँमा भारत तथा अन्य देशबाट आएकाहरू धेरै छन्। त्यसैले उनीहरुको प्रत्यक्ष सम्पर्कबाट टाढा रहन गाउँलेहरु मिलेर मूलबाटो बन्द गरेका हौं।’ जुम्लामा ७ सयभन्दा बढी व्यक्ति भारतबाट भित्रिएको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.