गाउँमा फालाफाल, बजारमा हाहाकार

गाउँमा फालाफाल, बजारमा हाहाकार

महोत्तरी : रतनकुमार महतोको गोठमा चार वटा भैंसी थिए। लकडाउनले भैंसीलाई दानापानी जुटाउन समस्या भयो। उनले बाध्य भएर घाटा लगाई दुई वटा भैंसी बिक्री गरे। भैंंसीको दूध डेरीमा उनलाई पुर्‍याउन कठिन छ। उनीसँग अहिले गोठमा दुई वटा दूधालु भैंसी छन्।

‘लकडाउनले बजार बन्द भयो। पशु आहार दाना पाइएन। भुसा, पराल छैन। भैंसी पाल्नै सकिएन। बाध्य भएर सस्तोमै भैंसी बिक्री गर्नु पर्‍यो’, उनले भने। महोत्तरीको गौशाला नगरपालिका–१२ परोरियाका दूध किसान रतन कुमार भन्छन््, ‘दूध लिएर डेरी सम्म आउँदा प्रहरीले कुट्छ , मोटरसाइकल खोसिदिन्छ। धेरै अप्ठ्यारो भयो।’

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न भन्दै सरकारले लगाएको लकडाउन तीन सातमा पुगेको छ। ‘घरमा दूध फालिन्छ, डेरीमा बिक्री गर्न किसानले सकिरहेका छैनन्’, उनले भने।

शनिबार बिहानको ८ बज्दैं थियो, बर्दिबास बजार पुग्दा सुनसान थियो। शनिबार र बुधबार भिडभाड हुने बिहानी हाट सुनसान देखिन्थ्यो। तरकारीले बजार नपाएको भन्दै किसान चिन्ता जाहेर गर्दै थिए, उपभोक्ताले सागसब्जी नपाएर हाहाकार भएको बताउँदै थिए।

टनेलमै सड्योे च्याउ

टनेलमै च्याउ कुहेर चिन्तामा छन्, महोत्तरीको बर्दिबास–३ पाटुका किसान रामकृष्ण कार्की। बर्दिबासका कुमार घिमिरे सधैं सागसब्जी बजारबाट किनेर खान्छन्। उनी पेसाले शिक्षक छन्। बजारमा सागसब्जी, दहीदूधको हाहाकार हुँदा भान्छा प्रभावित भएको उनले बताए।

लकडाउनले बजार बन्द हुँदा किसान मारमा छन्। उत्पादित सागसब्जी बारीमै कुहिराखेको छ। दूधले बजार पाएको छैन। गाउँमा दुग्धजन्य पदार्थ दूध,दही, घ्यू फालाफाल छ। उत्पादनले बजार नपाउँदा किसान पिरोलिएका छन्। उनले भने, ‘उपभोक्ताले बजारमा नपाउँदा भान्छामा सागसब्जी पाक्न सकेको छैन, दही, दूध खान सकिरहेका छैन।’

च्याउ किसान रामकृष्णको टनेलमा च्याउ राम्रै फलेको थियो। मनग्गे आम्दानी हात पर्ने भन्दै उनी दंग थिए। जब च्याउको उत्पादन सुरु भयो, तब देश लकडाउन भयो। च्याउले बजार पाएन। लकडाउनले गर्नु गर्‍यो, नफा कमाउने सोंचेका रामकृष्णा अहिले ऋणको भेलमा डुबेका छन्।

ऋणमा किसान

‘तीन हजार बलमा लगाएको च्याउ खेतीबाट एक पैसा पनि हात लागेन। यता उत्पादन भयो, उता बजार खुल्दै, खुलेन’, उनले भने, ‘च्याउ त्यसै टनेलमा कुहिएर खेर जान थाल्यो। आँखा अगाडि मेहन्त गरेको च्याउ कुहिएर सड्न थाल्यो। हेरिनसक्नु भयो। टेन्सन हुन्छ भनेर रिसले च्याउको टनेल नै भत्काइदिंएँ।’ च्याउ खेती गर्न उनले साढे तीन लाख ऋण गरेका थिए।

‘सरकारको समाचार सुनेको सुनै छु, तरकारी, दूद्य, खाद्यान्न बिक्री वितरण रोकिएको छैन भन्छ। यहाँ किसानलाई बाटोमा प्रहरीले हिड्नै दिदैंन’, च्याउ किसान रामकृष्णले भने, ‘प्रहरीसँंग लुकेर किसानले उत्पादन बजार ल्याए पनि बिक्री गर्न पाइँदैन। कच्चा सागसब्जी बिक्री भएन भने पाल्नै पर्छ, त्यसको माइबाप कोइ छैन।’

बिक्री भएन उत्पादन

गौशाला नगरपालिका– १२ कान्तिबजारका किसान बुधन महतो लकडाउनले पिरोलिएका छन्। उनको एक विघामा खेती गरिएको करेला र बोडी फल्न थालेको छ। ‘बन्दीमा कहाँ लाने ? बजार बन्द छ। कसरी बिक्री गर्ने ? गाडी चल्न दिएको छैन। कसले किन्छ, बडो बिजोग भयो’, उनले भने, ‘बैंकबाट अढाई लाख रुपैयाँ ऋण लिएर तरकारी खेती गरेको छु। बिक्री भएन भने कहाँबाट ऋण तिर्ने ? ’ लकडाउनले किसानलाई क्षति नै क्षति भएको उनले पीडा पोंखे।

कान्तिबजारस्थित साना किसान कृषि सहकारीले सञ्चालन गरेको सहकारी दूध संकलन केन्द्र सञ्चालनमा लकडाउनले कठिनाई थपेको छ। दैनिक पाँच सय लिटर दूध संकलन हुँदै आएकोमा लकडाउन यता घटेर २ सय लिटरमा झरेको छ।

दूध संकलन केन्द्रका व्यवस्थापक रामदयाल महतोका अनुसार, आवतजावतकै समस्याले गाउँको दूध डेरीसम्म किसानले पुर्‍याउन सकेका छैनन्।‘ किसानलाई भुक्तानी गर्न पनि समस्या छ। बैंक खुल्दैन, कहाँबाट भुक्तानी गर्ने ? । डेरीले उत्पादन गर्ने दही र घ्यु थन्किएको छ।

बजारमा हाहाकार

बर्दिबास बजारमा तरकारी पसल गर्दै आएकी निरु खड्कालाई दैनिकी चलाउन कठिन बन्दै गएको छ। ‘किसानलाई बजारमा तरकारी ल्याउन पनि पाउँदैंनौ। हामीलाई बिक्री पनि गर्न दिँदैन’, उनले भनिन्, ‘विहान बेलुका पसल खोल्छु प्रहरी बन्द गराउन आइपुग्छन्। कति तरकारी कुहेर गयो। गाह्रो भयो जीन्दगी !’

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ। तीन सातामा पुगेको बन्दाबन्दीले मानिसको दैनिकी उकुसमुकुस भएको छ।

बर्दिबासस्थित बरगाछी टोल जाने बाटोमा तरकारी पसल गर्दै आएका शम्भु महतोले भने, ‘विहान–बेलुका २ घण्टा तरकारी पसल खोल्नु भनेर समाचारमा सुन्छु। एक जनालाई मात्र राखे तरकारी बिक्री गर्छौं, तर यहाँ प्रहरी खोल्नै दिँदैन। घरी आउँछ बन्द गर भन्छ, हो हो भन्दै लाठी देखाउँछ। न्युजमा सुन्छु एउटा कुरा, यहाँ हुन्छ अर्को।’

शम्भुका छिमकै तरकारी पसले पपुकुमार साह भन्छन्, ‘अनि उपभोक्ताले कसरी तरकारी पाउँछन् ? ’

महँगिको मारमा उपभोक्ता

शिक्षक पेसा अंगालेकाा कुमार घिमिरेलाई बजारमा अभावसँगै महँगी बढ्दा समस्या छ। ‘उपभोक्ताले बजारमा तरकारी, खाद्य बस्तु किन्न पाउँदैनन, मूल्य पनि दोब्बर भयो’, उनी भन्छन्, ‘मोबाइल भ्यानबाट सरकारले उपभोक्ताको घरघरमा सागसब्जी पुर्‍याउनु पर्छ।’

बर्दिबास नगरपालिका–३ का विनोद सुवेदीको परिवारमा ७ जना छन्। उनलाई पनि लकडाउनलाई ग्राहो बनाएको छ। उनी भन्छन्, ‘भान्छामा खानेकुरा छैन, बजारमा उस्तै समस्या छ। किसानको बालीले राम्रो मुल्या पाएको छैन। उपभोक्ता बजार पुग्दा प्रहरीले ड्यांडुंग गर्न थाल्छ।’ लकडाउनले सबैतिर कठिन छ, गरिवले पाउने राहत धनीको घरमा पुगेको भन्दै उनले थपें, ‘समाजमा अन्याय हुँदा सरकार के हेरेर बसेको छ ? ’

किसान नेता रामचन्द्र कुश्वाहाले किसान धेरै समस्यामा भएको बताए। बजारमा खान नपाएर समस्या छ। किसानको खेतमा बर्बाद भइरहेको छ। एक अर्कासँग लिंक जोड्नु पर्ने आवश्यकता छ। सरकारले बजार व्यवस्थित बनाएर किसानको उत्पादन उपभोक्ताको भान्छासम्म पुग्ने वातावरण बनाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.