राहत सामग्री लुट्ने ५ जना पक्राउ
वीरगन्ज : पर्सामा लकडाउनले समस्यामा परेकाहरुलाई वितरण गर्न लैजाँदै गरिएको राहत सामग्री लुट्ने ५ जना पक्राउ परेका छन्। पर्सागढी नगरपालिका ६ चैनपुरका अति विपन्न परिवारका लागि बाँड्न लैजाँदै गरीएको खाद्यान्न सामग्री शनिबार अपरान्ह वडा नम्बर ५ मै लुटिएको थियो।
राहत सामग्री लुट्ने ५ जनालाई प्रहरीले शनिबार बेलुकी पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका ५ पचरुखी निवासी २८ वर्षीय श्याम कुमार शर्मा , १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।
राहतसामग्री लुटिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र एकटाङगाबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्न मध्येका ५ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
पक्राउ परेकाहरु विरुद्ध कार्वाही प्रकृया थालिएको र लुटपाटमा संलग्न अरु व्याक्तिहरुको पनि खोजी भइरहेको उनले बताइन् । इलाका प्रहरी कार्यालय एकटाङगाका प्रहरी नायब निरीक्षक पूर्णबहादुर दाहालका अनुसार पर्सागढी नगरपालिका–६ का अति विपन्न परिवारका लागि बाड्न भनेर दाल, तेल, नुन साबुनसहितको ८४ पोका सामान लिएर वडा नम्बर ६ जाँदै गरेको नगरपालिकाको टयाक्टरलाई वडा नम्बर ५ मा स्थानीय केहि व्यक्तिहरुले रोकेर खाद्यान्न लुटेका थिए ।
वडा नम्बर ५ पचरुखी स्थित विद्यालयमा शनिबार अपरान्ह वडा अध्यक्ष अस्लम आलमले आफनो वडाका २ सय २४ बिपन्न परिवारलाई राहत वितरण गरिरहेका थिए । सो राहत वितरणमा वडा अध्यक्ष आलमले विभेद गरेको भन्दै १०÷१२ जनाको समूहले होहल्ला गरिरहेका थिए । त्यही बेला राहतको खाद्यान्न सामग्री लिएर जादै गरेको टयाक्टरलाई रोकेर लुटिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !