ग्यासमा कालोबजारी गर्नेलाई ३ लाख जरिवाना
धनगढी : लकडाउनको मौका छोपेर महंगोमा खाना पकाउने एलपी ग्यास बिक्री गर्दै आएका धनगढीका एक ग्यास सप्लायर्सलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । धनगढी उपमहानगरपालिका–६, मटियारीस्थित कुमारी हेमन्ती पालद्वारा सञ्चालित शुभ समैजी ग्यास सप्लायर्सलाई कालोबजारी गरेको अभियोगमा तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमल पुनले सप्लायर्सले २०७६ चैत १ देखि २०७७ वैशाख ७ गतेसम्म बिना बिल महंगो मूल्यमा ग्यास बिक्री गर्दै आएको जानकारी दिए । पुनका अनुसार सप्लायर्सले एक हजार एक सय ४४ थान ग्यास सिलिण्डर बिना बिल बिजक उपभोक्तालाई बिक्री वितरण गर्दै आएको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालया, जिल्ला प्रहरी कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र धनगढी उपमहानगरपालिका र प्रहरीको संयुक्त टोलीले ग्यासको डिलरमा छापा मारेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ खण्ड ङ को कसुरमा सोही ऐनको दफा ३९ को १ ख अनुसार ३ लाख जरिवाना गरिएको कार्यालय प्रमुख पुनले जानकारी दिए ।