वीरगन्जमा ३ करोडभन्दा बढीको खाद्यान्न वितरण
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले लकडाउनले महनगरमा समस्यामा परेकालाई ३ करोड रुपैयाँभन्दा बढीको खाद्यान्न वितरण गरेको छ । लकडाउन सुरु भएको चैत ११ देखि बैशाख ८ गतेसम्म महानगरका ३२ वटै वडामा गरी ३२ हजार ४ सय १९ विपन्न परिवारलाई ३ करोड रुपैयाँ भन्दा बढीको चामल दाललगायतका खाद्यान्न वितरण गरिएको नगर प्रमुख विजय सरावगीले जानकारी दिएका हुन् ।
सरावगीका अनुसार , महानगरले ४ लाख २९ हजार १ सय ९६ केजी चामल , ४४ हजार केजी दाल , ३० हजार ९ सय ७ लिटर खाने तेल , १६ हजार १ सय ५० केजी आलु , २५ हजार ३३ केजी नुन , १ हजार ३ सय ५६ प्याकेट चाउचाउ र ६ सय ७८ पिस बिस्कुट राहतमा वितरण गरिएको हो ।
यस्तै महानगरका स्वास्थ्यकर्मी र कर्मचारीका लागि सेनेटाइजर , मास्क , ग्लोब्स , किटमा गरि ८ लाख ४२ हजार ७ सय ११ रुपैया खर्च भभएको सरावगीले जानकारी दिए ।
उनले भने, 'अहिलेसम्म प्रदेश सरकारबाट २५ लाख मात्रै आएको छ , बाँकी सबै खर्च महानगरपालिकाले आफ्नै श्रोतबाट खर्च गरेको छ , अरु कही कतैबाट एक रुपैयाँ पनि सहयोग आएको छैन ।'
नगर प्रमुख सरावगीले कोरोना संक्रमणको उच्च जोखीममा परेको वीरगन्जका लागि प्रदेश र संघ दुवै सरकारले ध्यान नै नदिएको गुनासो पनि गरे । वीरगन्जमा संक्रमित भेटिएको २ हप्ता बितिसकेको छ, तर अहिलेसम्म पीसीआर परीक्षण सेवा सुरु हुन सकेको छैन , सरकारले पीसीआर मेसीन मात्रै पठाइ दिएको छ , तर संचालनका लागि चाहिने थुप्रै उपकरण छैन , वीरगन्जका जनतालाई झुक्याउनका लागि मात्रै पीसीआर मेसिन पठाएको देखिन्छ । '
लकडाउनका कारण समस्यामा परेका महानगरका जनताको राहतका लागि पनि संघ र प्रदेश सरकारले महानगरपालिकासँग कुनै समन्वय नगरेको पनि गुनासो उनले गरे ।
प्रतिक्रिया दिनुहोस !