लकडाउनले नेपालको तरकारी बारीमै कुहियो, भारतबाट सहज आयात

लकडाउनले नेपालको तरकारी बारीमै कुहियो, भारतबाट सहज आयात

वीरगन्ज : लकडाउनमा भारतबाट सहजरुपमा तरकारी आयात भइ नेपाली बजारमा बजारमा आपुर्ति भइरहेको छ । तर पर्सामा किसानले फलाएका तरकारी भने बजारसम्म पुग्न नसक्दा खेतमै कुहिन थालेका छन् । 

ग्रामीण भेगका किसानले फलाएका तरकारी प्रहरीले बजारसम्म ढुवानी र बिक्री वितरणमा अवरोध पुर्‍याएका कारण खेतमै तरकारी छिप्पिएर बिग्रनुका साथै कुहिन पनि थालेको गुनासो किसानहरुको छ । 
 

बहुदरमाई नगरपालिकाको पटनी, भौराटार र जगरनथापुर गरी ३ गाँउमा मात्रै झण्डै डेढ सय बिघाभन्दा बढी क्षेत्रफलमा  किसानले तरकारी खेती गरेका छन् । 
खेतमा हरियो तरकारी तयार भइ टिप्ने बेला भइसक्दा पनि लकडाउनमा प्रहरीले बजारसम्म ढुवानी गर्न र बिक्री गर्न नदिएका कारण खेतमै तरकारी कुहिन थालेको पटनीका किसान शंकर कुशवाहाले बताए । 


 
१ बिघामा करेला, बोडी, परवल, गोलभेडा, भिन्डी र खुसार्नी लगाएका कुशवाहा भन्छन्,‘सबै तरकारी टिप्ने बेला भइसकेको छ, तर किन्ने व्यपारीहरु आउनै छाडेकाले खेतमै छिप्पिएर सारा तरकारी कुहिन थालेका छन् ।' व्यपारीलाई प्रहरीले बाटोमै रोकेर कुट्न थालेपछि खेतमै आउनै छाडेको उनले बताए । 

'गाँउ-गाँउमा व्यपारीले साइकलमा घुमाएर बेच्दा पनि प्रहरीले तरकारी खोसेर कुट्छ, त्यहि डरले व्यपारी खेतमा आउन छाडेका हुन्' , कुशवाहाले भने, ‘खेतीमा ४०-५० हजार खर्च लागेको छ, तर अहिले आम्दानी गर्ने बेला खेतमै तरकारी सडिरहेको छ ।' 
 
वीरगन्जमा भारतबाट रातारात गाडीबाट तरकारी आइरहेको तर आफ्ना देशका किसानले उब्जाएका तरकारी खेतमै कुहिएर खेर गइरहेको दुखेसो उनले पोखे । 
 ५ कठ्ठामा तरकारी खेती गरेका भौराटारका किसान बिक्रम साह कानुको दुखेसो पनि उस्तै छ । 
 
'पुलिसको डरले थोक व्यपारीहरु खेतमै आउन छाडेका छन् , खेतबाट दिनहुँ डेढदेखि २ क्वीन्टल तरकारी निस्किरहेको छ, गाँउघरका खुद्रा व्यपारीले ५-७ किलो माात्रै किनेर लैजान्छन्', कानुले भने,‘बाँकी तरकारी खेतमै त्यसै खेर गइरहेको छ ।' 
 
पटनीकै अर्का किसान लालबाबु कुशवाहाले टिप्न तयार भइसकेको तरकारी खेतमै छिप्पिएर बिग्रिन थालेकाले खेती गर्दा लगाएको लगानी पनि डुबेको बताए ।
'१ बिघामा झण्डै ६०-६५ हजार जति खर्च मात्रै लागेको छ', उनले भने, ‘३-४ लाख आम्दानी हुन्थ्यो होला तर अहिले आम्दानीको त कुरै छोडौँ खेतीमा लगाएको खर्च पनि डुबेको छ ।'


 
किसानको खेतबाट तकारी किनेर गाँउघरमा डुलाउँदै बेच्दै आएका कटैयाका व्यपारी जलुदिन अन्सारीले पनि लकडाउनमा सडकमा निस्किन नपाइने भन्दै प्रहरीले तरकारी खोसेर कुटपिट पनि गर्ने गरेको बताए । 'गाउँमा बजार पनि प्रहरीले लाग्न दिएको छैन', उनले भने,‘साइकलमा डुलाएर बेच्न जाँदा पनि प्रहरीले तरकारी खोसिदिन्छ, कुटपिट पनि गर्छ । कसरी बेच्ने?' 
 
कृषि ज्ञान केन्द्र पर्साका अनुसार पर्सा जिल्लामा यस वर्ष किसानल हिउँदे र वर्षे गरी कुल ४ हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेका छन् । लकडाउनमा तरकारी लगायतका कृषि उपजको ढुवानी र बिक्री वितरणमा कुनै अवरोध नरहेको सरकारले भनेको छ  । तर पर्सामा भने किसानलाई अवरोध रहेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले पनि बताए ।
 
'अधिकांश किसानले तरकारी बजारसम्म सहज पुग्नै सकेका छैनन्, खेतमै तरकारी छिप्पीएर बिग्रिरहेका छन्', उनले भने, ‘यसमा सरकारको ध्यान पुग्न जरुरी छ ।' 

लकडाउनमा भारतबाट तरकारीको आयात बढ्यो
 
वीरगन्ज भन्सार कार्यालयका अनुसार , लकडाउन सुरु भएको चैत ११ देखि बैशाख ८ सम्म भारतबाट वीरगन्ज नाका हुँदै ३ करोड २८ लाख ४५ हजार ४ सय १० रुपैयाँ मुल्यको १२ लाख ४५ हजार ८ सय ९५ केजी हरियो तरकारी आयात भएको छ । यही अवधिमा भारतबाट वीरगन्ज नाका हुँदै ५ करोड ६१ लाख १४ हजार रुपैयाँ मुल्यको १९ लाख १२ हजार ७ सय केजी आलु प्याज पनि आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
 
लकडाउन सुरु भए यता भारतबाट तरकारीको आयात बढेको वीरगन्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले बताए । 'लकडाउन यता तकारीको आयात झन बढेको छ,  फागुनको तुलनामा चैत र त्यसपछिको अवधिमा तरकारी र खाद्यान्न दुवैको आयातमा वृद्धि छ', उनले भने,‘हरियो तरकारी मात्रै दैनिक औसतमा २० गाडी नेपाल भित्रिरहेका छन् ।' 

लकडाउनका कारणले भारतबाट वीरगन्ज नाका हुँदै तरकारीको आयातमा कुनै अवरोध र समस्या नरहेको उनले बताए ।     


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.