कुहिएको दाल वितरण प्रकरण : मेयरसहित ११ जना धरौटीमा रिहा
वीरगन्ज : कुहिएको दाल राहतमा बाँडेको अभियोगमा पक्राउ परेका बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवसहित ११ जना धरौटी बुझाएर रिहा भएका छन् । नगर प्रमुख यादव, जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर बुधबार बेलुकी साधरण तारेखमा रिहा भएका हुन् ।
त्यही प्रकरणमा पक्राउ परेका वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैन पनि त्यति नै रकम धरौटी बुझाएर तारिखमा रिहा भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले बुधबार साँझ नगर प्रमुख यादव र दाल मिलका संचालक जैनसग जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी मागेको थियो । धरौटीको रकम बुझाएर उनीहरु बुधबार नै बेलुकी साधरण तारेखमा रिहा भएका हुन् ।
दाल प्रकरणमा पक्राउ परेका कलैया वडा नम्बर २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नंबर १ का वडा अध्यक्ष हरिओम प्रसाद साह सोनार, वडा नम्बर ७ का वडा अध्यक्ष सैफुल्लाह अन्सारी, वडा नम्बर ११ का वडा अध्यक्ष सर्ब नारायण चौधरी, वडा नम्बर १३ का वडा अध्यक्ष राजन प्रसाद कुर्मी र वडा नम्बर २६ का वडा अध्यक्ष महेश साह पनि ६० हजार धरौटी रुपैयाँ धरौटी बुझाएर बुधबार बेलुकी नै रिहा भएका छन् ।
नगर प्रमुख यादवका काकाको छोरा रवीन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारीद्वय बच्चु यादव र कृष्णप्रसाद यादव पनि ६० हजार धरौटी तिरेर रिहा भएका छन् । दाल प्रकरणमा पक्राउ परेका सबै ११ जनालाई प्रत्येक महिनाको तारिख उपलव्ध गराई हाल धरौटीमा छोडिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । यसपछि साक्षी, वकपत्र हुँदै बहसमार्फत यो मुद्धाको टुङगो लाग्ने जानकारी पनि उनले दिए ।
लकडाउनले समस्या परेकालाई रहत वितरण गर्ने क्रममा कुहिएको दाल बाँडिएको फेला परेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले नगर प्रमुख राय यादव , ६ जना वडा अध्यक्ष , एक वडा सचिव, दाल मिलका संचालकसहित १२ जनालाई नियन्त्रणमा लिएर उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्र्तगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको थियो ।
कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा चैत २८ मा राहतमा बाड्नका लागि वडा अध्यक्षले लगेको दाल कुहिएको भेटिएको थियो । उक्त दाल खरिद गरिएको कलैया ७ स्थित यादव आइस एण्ड कोल्ड स्टोरमा प्रहरीले चैत २९ गते छापा मारेर त्यहा भण्डारण गरि राखिएको ३ सय ८० बोरा दाल जफत गरी कोल्ड स्टोर सिल गरेको थियो ।
जफत गरिएको दालको नमुना संकलन गरि प्रहरीले परीक्षणका लागि हेटौडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाबाट आएको रिपोर्टमा दाल गुणस्तरहीन र खान अयोग्य रहेको पुष्टि भएपछि प्रहरीले यस विषयमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस !