बंगालको खाडी र अरब सागरको वायुले दिनहुँ वर्षा
काठमाडौं : क्षणभरमा बदलिने मौसम, अपरान्हपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुनु मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि-मनसुन’को विशेषता हो। तर, अहिले बिहान, दिउँसो, बेलुका जुनसुकै बेला पानी पर्न थालेपछि प्रि मनसुनले मध्य वर्षाको झल्को दिन थालेको छ।
सामान्यतया स्थानीय वायुले प्रि-मनसुन सक्रिय वा कमजोर बनाउने भूमिका खेल्छ। अहिले बंगालको खाडीबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा भित्रिएपछि हरेक दिन पानी पर्न थालेको हो। यसपटक स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा नेपाली भू-भागमा भित्रिरहेकाले दिनहुँजसो वर्षा हुन थालेको जल तथा मौसम विज्ञान विभागका अधिकारी बताउँछन्।
विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेल भन्छिन्, ‘अहिले दैनिक पानी परेपनि यो प्रि-मनसुनकै गतिविधि हो, तर, हरेक वर्ष यस्तो हुँदैन, अहिले बंगालको खाडी र अरब सागरको वायुले हरेक दिन वर्षा गराइरहेको छ।’
भारतको उत्तरपूर्वी भेगमा विकास भएको न्यून चापीय क्षेत्रले पूर्वी भेगमा बंगालको खाडीको वायु र पश्चिमतर्फ अरब सागर अनि मुलुकभित्रै विकास भइरहेको स्थानीय वायुको समिश्रणले प्रि-मनसुन सक्रिय बनाएको उनले बताइन्। उच्च वायुमण्डलमा रहने न्यून चापीय क्षेत्रले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पुर्याएर पानी पार्ने प्रकृतिको बादल बनाउन सहयोग पुर्याउँछ।
मौसमविद् अंग्रेजी महिनाका मार्च, अप्रिल र मे (जेठ तेस्रो सातासम्म) लाई प्रि-मनसुनका रुपमा बुझ्ने गर्छन्। अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो।
मेघ गर्जनसहित असिना पानी, हावाहुरी, हल्का र क्षणिक वर्षा अझै केही दिन जारी रहने महाशाखाले जनाएको छ। बंगलादेश, भारतमा पनि अहिलेको मौसमी प्रणाली सक्रिय रहेको महाशाखाका अर्का मौसमविद् राजु प्रधानाङले बताए।
प्रि मनसुन सक्रिय भएपछि तराईमा गर्मी बढ्न पाएको छैन। काठमाडौं उपत्यकासहित पहाडी र उच्च हिमाली भेगमा बिहान बेलुकी अझै पनि चिसो नै छ। मध्य वैशाखमा प्रायः ४० डिग्री वा सो भन्दा माथि रहने नेपालगन्ज, धनगढी, दिपायल र आसपासका भेगको अधिकतम तापक्रम यो वर्ष ३५ डिग्री नाघेको छैन।
यही समयमा ३५ डिग्री माथि पुग्ने विरेन्द्रनगर, दाङ, भैरहवा, सिमरा, विराटनगर, पूर्वी र मध्य तराईको तापक्रम यसपटक ३० डिग्री हाराहारीमा सीमित छ। मौसमी प्रणाली सक्रिय हुँदा यसपटक प्रि मनसुनको औषत वर्षाको मात्रासमेत बढेको पाइएको छ। अप्रिल महिनामा काठमाडौं उपत्यकाको औसत वर्षाको मात्रा ६१ मिलिमिटर हो। शनिबार दिउँसो सम्ममा ५४ मिलिमिटर वर्षा भइसकेको छ।
विभागले पोखराको औसत वर्षा १ सय २७ दशमलव ६ मिलिमिटर तोके पनि शनिबारसम्ममा त्यहाँ १ सय ६४ मिलिमिटर भन्दा बढी वर्षा भइसकेको छ। धनकुटामा पनि औसत वर्षा नाघेर ५५ मिलिमिटर भन्दा बढी वर्षा भइसकेको मौसमविद् प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार अप्रिलमा त्यहाँको औसत वर्षा ४९ दशमलव ६ मिलिमिटर हो।
गत महिना मार्चमा पनि पोखरा, धनकुटा, नेपालगन्जमा औसत भन्दा निकै धेरै वर्षा भएको थियो। मार्चमा पोखराको औसत वर्षा १६ मिलिमिटर रहेकोमा त्यहाँ १ सय ३ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांक छ।
धनकुटा र नेपालगन्जमा औसत वर्षा क्रमशः २५ दशमलव २ र १४ दशमलव ९ रहेकोमा धनकुटामा ४९ दशमलव ५ र नेपालगन्जमा सोही हाराहारीमा वर्षा भएको थियो। अप्रिल महिना एक साता बाँकी रहदै गर्दा अहिलेको मौसमी गतिविधिले मुलुकका अधिकांश भेगमा औसत वर्षा नाघ्ने संकेत देखाएको मौसमविद् प्रधानाङ्गले बताए।
प्रतिक्रिया दिनुहोस !