नेपालीको उद्धार गर्न कांग्रेसको माग

नेपालीको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं : नेपालबाहिर रहेका नेपालीको उद्धार गर्न प्रमुख प्रतिपक्षी कांग्रेसले माग गरेको छ। मुलुकबाहिर करिब ५० लाख नेपाली रहेको उल्लेख गर्दै कांग्रेसले उनीहरूलाई अत्यावश्यक परेको अभिभावकत्व प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कांग्रेसले शनिबार विज्ञप्तिमार्फत सरकारलाई विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई राहत, उपचार र उद्धारमा तदारुकता बढाउन सरकारसँग माग गरेको हो।

‘विदेशमा रहेका नेपालीबारे कांग्रेसका तर्फबाट नेपाल सरकारसमक्ष प्रधानमन्त्री एवं पराराष्ट्रमन्त्रीको तहमा पटक–पटक सम्पर्क, संवाद, आवश्यक आग्रह, ध्यानाकर्षण एवं माग प्रस्तुत गरिएका छन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मूलतः बाहिर रहेका नेपालीबारे हाम्रो ४ आग्रह छ— सचेतना, राहत, उपचार र उद्धार।’

कांग्रेसले विभिन्न मुलुकमा रहेका शनिबारसम्म ५० नेपालीको मृत्यु भइसकेको र १८ सयभन्दा बढी नेपालीमा कोरोना संक्रमण देखिएको जनाएको छ। ‘यस्तो स्थितिमा एकातर्फ नेपालीलाई संक्रमणबाट जोगाउने अर्कोतर्फ संक्रमित भएकाको उपचारमा ढिलाइ हुन नदिन विशेष तदारुकताका लागि संगठित पहल जरुरी छ,’ कांग्रेसले भनेको छ, ‘सम्बन्धित देशमा रहेका नेपाली समुदायलाई थप प्रेरित र संगठित गर्न जरुरीसँगै नेपाल सरकारले थप कूटनीतिक एवं व्यवस्थापकीय पहल गर्न जरुरी छ।’

कांग्रेसले विदेशमा रोजगारी गुमाएका या रोजगारी खतरामा परेका नेपालीबारे ठोस दृष्टिकोण निर्माण गरेर अभिभावकत्व ग्रहण र कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। कांग्रेसले विदेशमा रहेका नेपालीको उद्धारबारे पनि ठोस रणनीति बनाउन सरकारसँग माग गरेको छ। कुवेत, बहराइनलगायत कतिपय देशले गैरकानुनी रूपमा रहेका विदेशी श्रमिकलाई ‘एम्नेस्टी’ को घोषणा गरी बिना कारबाही देश फर्कने समय सीमा तोकेको जनाउँदै कांग्रेसले उनीहरूको उद्धारबारे पनि स्पष्ट धारणा बनाउन माग गरेको छ।

‘कुवेतमा करिब ५ हजार र बहराइनमा झन्डै ३ हजार नेपाली गैरकानुनी रूपमा रहेको अनुमान छ। सम्बन्धित देशले फर्काउने घोषणा गरिसकेको र कतिपय देशका नागरिकलाई आफ्नै खर्चमा ‘चार्टर फलाइट’ मा फर्काइएको विवरण दृष्टिगत गरेर नेपालले आफ्नो प्रस्ट धारणा तत्काल निर्माण गर्न जरुरी छ भने उद्धारपश्चात् अत्यावश्यक बन्दोबस्तमा तत्कालै रणनीति निर्माण गर्न आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ।

एकैपटक ठूलो संख्यामा नेपालीको उद्धार सम्भव नभए पनि अप्ठ्यारोमा परेर स्वदेश फर्कन चाहेका नेपालीलाई ‘आउन दिन्नौं’ भन्ने मनोविज्ञान र व्यवहार प्रस्तुत गरिनु मानवाधिकार र मानवीयता दृष्टिले गलत हुने कांग्रेसले स्पष्ट पारेको छ। ‘अतः देशलाई रेमिटेन्स पठाएर अर्थतन्त्र जोगाउन योगदान गरिरहेका संसारभरका नेपालीले आज प्रतिकूलता व्यहोरिरहेका बेला एकदमै अप्ठ्यारोमा जो परेका छन्, तिनलाई उद्धार गर्नु राष्ट्रको कर्तव्य हुन्छ,’ कांग्रेसले भनेको छ। कांग्रेसले सीमामा पुगेका नेपालीको स्वास्थ्यपरीक्षण गरेर क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.