लकडाउनमा रासायनिक मलको कालोबजारी

लकडाउनमा रासायनिक मलको कालोबजारी

वीरगन्ज : बारा जिल्लामा लकडाउनका बेला सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेको छ। बारामा सरकारी अनुदानको मल , किसानलाई बिक्री नगरी कृषि सहकारी संस्थाहरुले बढी मुनाफा लिएर व्यापारीलाई बिक्री गरिरहेका छन्।

भारत तथा तेश्रो मुलुकबाट नेपाल सरकारले खरिद गरेर ल्याएको रासायनिक मल , कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारी संस्थामार्फत किसानलाई सरकारी अनुदानमा उपलब्ध गराउदै आएको छ। तर बारामा भने कृषि सहकारी संस्थाहरुले लकडाउनको मौका छोपेर सरकारी अनुदानको मल , किसानलाई नभइ बढी मुनाफाको लोभमा व्यपारीलाई बिक्री गरिरहेका छन्।
कृषि सहकारी संस्थाले सरकारले तोकेको दरभन्दा बढी भाउमा पनि किसानलाई बेचेर मलको कालाबजारी मौलाइरहेको छ। 

लकडाउनमा कालोबजारी गर्ने ५ जना पक्राउ, ६ सय १२ बोरा मल जफत

लकडाउनमा ( बैशाख ४ देखि १२ सम्म) मलको कालोबजारी गरेका बाराका विभिन्न स्थानका ५ जनालाई पक्राउ गरिसकेको छ भने ६ सय १२ बोरा मल पनि प्रहरीले जफत गरेको छ।  शुक्रबार मात्रै मलको कालाबजारी गरेको आरोपमा प्रहरीले बाराका एक व्यापारी सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको  बिश्रामपुर गाउँपालिका -२ मा रहेको माँ गायत्री खाद भण्डार पसलका सन्चालक महेन्द्र साह तेली र टयाक्टर चालक रामबाबु पंडित छन्।

प्रहरीले कालोबजारी गर्न लागिएको डीएपी, युरिया र पोटास गरी ९० बोरा रासायनिक मल जफत गरेको छ।प्रहरीका अनुसार , वीरगन्जको साल्ट ट्रेडिङ कर्पोरेशनबाट बारा प्रसौनीको अतिथी कृषि सहकारी संस्थाले किसानलाई बिक्री गर्न खरिद गरेको ९० बोरा मल , किसानलाई बिक्री नगरी माँ गायत्री खाद भण्डार पसललाई बढी मूल्य लिएर बिक्री गरेको थियो। 
यो खबर पाउना साथ शुक्रबार प्रहरीले माँ गायत्री खाद भण्डार पसलमा छापा मारेर ९० बोरा मलसहित पसलका सन्चालक तेली र मल बोकेर लगेको ट्रयाक्टरका चालक पण्डितलाई पक्राउ गरेको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए।

सरकारी अनुदानको मल व्यापारीलाई बेच्ने कृषि सहकारी संस्थाका सन्चालकको पनि खोजी भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए। यस्तै बैशाख ८ मा पनि प्रहरीले सरकारी अनुदानको रासायनिक मल कालाबजारी गरेको अभियोगमा बाराकै सिम्रौनगढ नगरपालिका  ८ कचोर्वाका रवीन्द्र यादवलाई पक्राउ गरेको थियो। सरकारी मूल्यअनुसार युरिया मल किसानलाई प्रति बोरा अधिकतम ८ सय रुपैयाँको भाउमा बिक्री गर्नु पर्छ। तर यादवले किसानलाई ११ सय ५० रुपैयाँमा बिक्री गरेको उजुरी परेपछि प्रहरीले यादवलाई एक सय २० बोरा युरिया मलसहित पक्राउ गरेको थियो । यादवसँगै ट्याक्टर चालक रामाकान्त साहलाई पनि प्रहरीले पक्राउ गरेको थियो। 

यस्तै बैशाख ४ गते  अनुदानको मल बढी मुल्यमा बेच्ने बारा कोल्हवी नगरपालिका १ कोल्हवी बजार श्री लक्ष्मी बहुमुखि कृषि सहकारी संस्थाका सन्चालक शम्भु साहलाई पनि पक्राउ गरेको छ। प्रहरीले साहले सहकारी संस्थाको गोदाममा शिलबन्दी गर्नुका साथै गोदाममा भण्डारण गरी राखिएका  युरिया मल १ सय ८१ बोरा, पोटास मल ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद गरेको छ।  

कृषि सामाग्री कम्पनि लिमिटेड कार्यालय बाराकाअनुसार जिल्लामा रासायनिक मलको कारोबार गर्ने १७६ वटा कृषि सहकारी संस्था छन्। तीनै संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई  सरकारी अनुदानको मल सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ।

कार्यालयबाट सरकारी अनुदानको मल लगेका कृषि सहकारी संस्थाले किसानलाई बिक्री गरेको सूचि (मल खरिद गरेका किसानको नाम , बिक्री मुल्य र परिमाण) सम्बन्धित वडा अध्यक्षबाट प्रमाणीकरण गरेर ल्याएपछि मात्र अर्को पटकका लागि मल कार्यालयबाट सहकारी संस्थालाई उपलब्ध गराउदै आएको छ। 

कृषि सामाग्री कम्पनीले  कृषि सहकारी संस्थालाई युरिया मल प्रति बोरा ७ सय १० र डीएपी २ हजार १ सय १० रुपैयाँमा बिक्री गर्ने गरेको छ। कृषि सहकारी संस्थाले भने ढुवानी भाडा थपेर किसानलाई युरिया मल बोराको अधिकतम ८ सय र डीएपी अधिकतम २ हजार २ सय रुपैयामा बिक्री गर्नु पर्ने प्रावधान छ। तर लकडाउनको मौका छोपेर कृषि सहकारी संस्थाले भने बढी मुनाफा लिएर किसानलाई नभइ व्यपारीलाई बेच्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.