गाउँ फर्किएकाले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
डोटी : कोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रुप लिइरहेको बेला देश एक महिनादेखि लकडाउनमा छ । लगातार महिना दिनको लकडाउनले गर्दा जिल्लाबाहिर बस्ने अहिले धमाधम गृहजिल्ला फर्किरहेका छन् ।
काठमाडौंमा डेरामा बस्दै आइरहेका डोटीबासी सोमबार र मंगलबार एक सय ७३ जना जिल्ला प्रवेश गरेका छन् । जिल्लाभन्दा बाहिरबाट आउने व्यक्तिले २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला प्रशासनले गरेको निर्णय अनुसार अहिले घर फर्केका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने काम गरिरहेको छ ।
जिल्ला आएका व्यक्ति स्थानीय तहकै सक्रियतामा आएको हुनसक्ने र जो जसरी जिल्लामा आए पनि क्वारेन्टाइनमा भने बस्नैपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
काठमाडौंबाट सोमबार र मंगलबार जिल्लामा फर्कनेमा शिखर नगरपालिकाका ५५ जना, दिपायल सिलगढी नगरपालिकाका २४, पूर्वीचौकी गाउँपालिकाका ४१, केआईसिंह गाउँपालिकाका २०, बोगटान फुड्सिल गाउँपालिकाका १९ र आदर्श गाउँपालिकाका १२ जना व्यक्ति रहेका छन् । सबैलाई आ–आफ्नो स्थानीय तहले क्वारेन्टाइनमा राखेको बताइएको छ ।