सीमावर्ती क्षेत्र उच्च जोखिममा

सीमावर्ती क्षेत्र उच्च जोखिममा

काठमाडौं : नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।

सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा संक्रमण पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्नपूर्णसँग भने, ‘सीमावर्ती क्षेत्रमा संक्रमणका केस बढी देखिन थालेका छन्। दुई देशबीचको नाका क्षेत्र जोखिमयुक्त छ।’

नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ। भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ संक्रमितको संख्या ३५ हजार नाघेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४७ पुगेको छ।

रुपन्देहीमा भेटिएका संक्रमित भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गर्दै आएका थिए। संक्रमित २५ वर्षीय युवा हुन्। उनी वैशाख ५ गते सीमावर्ती सम्मरीमाई गाउँपालिकाको ठोठरी नाकाबाट लुकेर भित्र प्रवेश गरेका थिए। सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ९ गतेदेखि लकडाउन गरेपछि उनी नाकामा लुकेर बसेका थिए।

नेपालगन्जमा भेटिएका संक्रमित पनि भारतको रुपैडिहा क्षेत्रबाट आएका व्यक्तिबाट संक्रमित भएको जनाइएको छ। नेपालगन्जका संक्रमित ६० वर्षीय व्यक्ति एकलैनी क्षेत्रका भएको जनाइएको छ। उनी भारतको बहराइच क्षेत्रबाट एक महिनाअघि नेपाल आएको पाइएको छ।

दुवै संक्रमितको नाक तथा घाँटीको ¥याल (स्वाब ) नमुना परीक्षण गरिएको थियो। पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरेर पुष्टि भएपछि मन्त्रालयले संक्षिप्त विवरणसहित सार्वजनिक गरेको थियो। उनीहरुको ‘ट्राभल हिस्ट्री’सहित ट्रेसिङको कार्य अघि बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।

संक्रमित दुवै जनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ। वरिष्ठ श्वासप्रश्वास तथा सघन उपचार (आईसीयू) विशेषज्ञ प्राडा अर्जुन कार्कीले ज्वरो नआएको र खोकी लागिरहेको छैन भन्दैमा स्वस्थ मान्न नसकिने बताए। उनले भने,‘ लक्षण नदेखिएको अवस्थामा पनि कोरोना संक्रमण देखिएको छ। कुनै लक्षण देखिएको छैन भन्दैमा अरुसँग भेटघाट गर्नुहुँदैन।’

लक्षण नदेखिएका व्यक्तिले पनि कोरोना सार्ने भएकाले पीसीआर विधिबाट परीक्षणको दायरा बढाउनुपर्ने डा. कार्कीले सुझाव दिए। ‘ सीमावर्ती क्षेत्र जोखिममा भएकोले स्थानीय बासिन्दा अझ बढी संवेदनशील र अनुशासित हुनु जरुरी छ’, डा. कार्कीले भने।

पर्साको वीरगन्जका एक व्यवसायीलाई पनि कोरोना संक्रमण भएकोमा निको भई डिस्चार्ज भएका छन। पश्चिमी मात्र नभएर पूर्वी र मध्य क्षेत्रका सीमावर्ती क्षेत्रमा पनि जोखिममा रहेको विज्ञको ठम्याइ छ।

काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा हालसम्म ५९ जना संक्रमित फेला परेका छन्। जसमध्ये पुरुष ४९ र महिला १० रहेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये १६ जना भने निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अन्य ४३ संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.