वीरगन्ज अपडेट : एक साताअघि डिस्चार्ज भएका २ संक्रमितलाई फेरि अस्पताल ल्याइयो
वीरगन्ज : कोरोनाको उपचारपछि निको भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएका कोरोनाका संक्रमितमध्ये २ जनालाई फेरि अस्पतालमा ल्याएर भर्ना गरिएको छ । नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो ।
वैशाख १४ गते डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राती र भारत उत्तर प्रदेशका ४१ वर्षीय जमातीलाई आइतबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको हो ।
रौतहटका अन्सारी र एक भारतीय जमातीलाई अस्पतालमा ल्याएर भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । अस्पतालबाट डिस्चार्ज गरिएका दुवैको स्वास्थ्यमा केही समस्या देखिएपछि थप अनुसन्धानका लागि अस्पतालमा ल्याइएको र दुवैको स्वाब पुन: परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मेसु उपाध्यायले बताए ।
रौहतहटका अन्सारीलाई उनको घरबाटै र भारत उत्तर प्रदेशका जमातीलाई भने वीरगन्ज २ छपकैयाको यतिमखाना नजिकैको घरबाट आइतबार दिउँसो अस्पतालमा ल्याइएको हो ।
अस्पतालबाट बैशाख १४ मा डिस्चार्ज गरिएका तीन भारतीयलाई लकडाउनमा नाका बन्द रहेकाले भारत नपठाइ वीरगन्ज २ छपकैयाको यतिमखाना नजिकैको एक घरमा राखिएको थियो । रौतहटका अन्सारीलाई वैशाख १ मा कोभिड- १९ को संक्रमण पुष्टि भएपछि वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो।
तीन भारतीय जमातिलाई भने चैत ३० गते वीरगन्ज २ छपकैयाको मस्जिदबाट अस्पतालमा ल्याइएको थियो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्सारी र तीन भारतीय जमाती गरी ४ जनाको तेश्रो, चौथो र पाँचौ (वैशाख ४ , ८ र १२ गते ) पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ पठाएपछि अस्पतालले चारैजनालाई वैशाख १४ गते डिस्चार्ज गरी पठाएको थियो ।
तर, शंका लागेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै फेरी क्रस चेक गर्दा ती चारमध्ये २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार अन्सारीको घरमै पुगेर उनको स्वाब संकलन गरी काठमाडौं पठाएका थिए ।
भारत उत्तर प्रदेशका जमातीको स्वाब भने बैशाख १८ गते फेरि काठमाडौं पठाइएको थियो । अस्पताल श्रोतका अनुसार , पुन: परीक्षणका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारी र एक भारतीय जमातिलाई फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो ।
आइतबार नयाँ भेटिएका १ र पुन अस्पतालमा ल्याइएका २ गरी नारायणी अस्पतालका आइसोलेसनमा राखिएका संक्रमीतको संख्या अब ११ पुगेको छ। अन्सारी भन्छन्,' निको भयो भनेर फूलमाला दिएर घर पठाए ,अहिले फेरि रातारात अस्पतालमा ल्याएका छन्।'
शनिबार राती फेरि घरबाट नारायणी अस्पतालमा ल्याएर राखिएका रौतहटका बच्चा अन्सारीले चिकित्सकले निको भएर घर पठाएको एक हप्ता नबित्दै आफूलाई फेरि अस्पतालमा ल्याएर राखिएकाले मानसिक तनावमा परेको बताए।
आइतबार अन्नपूर्णपोष्टसँग कुरा गर्दै अन्सारीले भने, '१२ दिनसम्म अस्पतालमा राखियो, डाक्टर नर्स सबैले निको भयो भनेर फलमालाले विदाइ गरी घर पठाएका हुन् , तर अहिले फेरि रातारात घरबाट ल्याएर अस्पतालमा राखिएको छ।'
अन्सारीका अनुसार वैशाख १४ गते निको भएर घर गएको तीन दिनपछि गत बुधबार पनि नारायणी अस्पतालबाट उनको घरमा गएका ३ जना स्वास्थ्यकर्मीले नमुना संकलन गरी फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस !