पर्सामा कोरोना राहत वितरण : ठाउँठाउँमा विवाद, विरोध अनि झडप
वीरगन्ज : लकडाउनले समस्यामा परेकालाई राहत सामग्री बाँड्ने विषयलाई लिएर पर्साका अधिकांश पालिकाको वडामा विवादभइ झडप समेत भइरहेको छ । प्रदेश सरकारले लकडाउनले समस्यामा परेकालाई वितरणका लागि पालिकामार्फत वडामा खाद्यान्न सामग्री पठाएको छ । तर राहत सामग्री वितरणमा वडा अध्यक्ष र सर्वदलीय समितिका सदस्य पूर्वाग्राही भएको, भर्पाइ गरिएको भन्दा कम खाद्यान्न बाँडेको भन्दै वडामा विवाद भइ झडप समेत भइरहेको छ ।
सोमबार पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठीमा राहत वितरणका क्रममा राहत लिन गएका स्थानीय र प्रहरी बीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा ९ जना स्थानीय घाइते भएका छन् । घाइतेमध्ये एकजनाको हात भाँच्चिएको छ । उनको सेढवा स्वास्थ्य चौकीममा उपचार भइरहेको छ ।
वडा अध्यक्ष मगरु राउत गद्धीले फरमममा भर्पाइ गरिएको भन्दा कम राहत सामाग्री वितरण गर्न थालेपछि विरोध गर्दा वडा अध्यक्ष गद्धीले नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाइ बोलाएर लाठी चार्ज गर्न लगाएको आरोप स्थानीयको छ । झडप पछि त्यहाँ राहत वितरण कार्य स्थगीत गरिएको छ ।
राहत वितरणका लागि वडा कार्यालयले भर्पाइ गराएको फर्ममा प्रति परिवार चामल २५ केजी , आलु ५ केजी , दाल २ केजी , खाने तेल २ लिटर , प्याज २ केजी , सोयाबीन १ केजी र साबुन ४ थान वितरण गरिने भर्पाइ उल्लेख छ ।
तर सोमबार वडा अध्यक्ष गद्धीले चामल १० केजी , आलु १ किलो र प्याज आधा किलो मात्रै बाड्न खोजेकोले राहत लिन गएका स्थानीयले विरोध गरे पछि विवाद भइ झडप भएको स्थानीय कृष्ण मोहन साहले जानकारी दिए।
वडा अध्यक्ष गद्धीले भने गाउँपालिकाले पठाएको राहतमा दाल नरहेको र अरु सबै सामान वितरण गरिरहेकै बेला स्थानीय केही व्यक्तिले हुलदंगा गर्न खोजेपछि सुरक्षाकर्मीलाई बोलाएको बताए ।
आइतबार पर्साकै पटेर्वासुगौली गाउँपालिका ५ मा राहत वितरण गर्ने क्रममा स्थानीयले विवाद गर्दै अवरोध गरेका थिए । राहत वितरणमा अवरोध गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरी हिरासतमा राखेको छ ।
राहत वितरण गर्ने क्रममा स्थानीयले अवरोध गरेको र वडा कार्यालयले पक्राउ गर्न प्रहरीलाई पत्रचार गरेपछि पक्राउ गरी ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
पर्साकै छिपहरमाई गाउँपालिका -३ जयमंगलापुरमा गाउँपालिकाले लुकाएर राहत वितरण गर्न लागेको आरोप छ । गाउँपालिकाले राहत सामग्री आइतबार राती टयाक्टरमा लोड गरी लुकाएर वितरण गर्न लागेको भन्दै स्थानीयले विरोध गरेका थिए।
रातारात ट्याक्टरमा राहत सामग्री लिएर जाँदै गरेको स्थानीय शंकर पटेलले देखेर रोक्न खोज्दा ट्याक्टरका चालकले उनलाई हातपात समेत गरेको कांग्रेसका स्थानीय नेता विरेन्द्र पटेलको आरोप छ ।
यस विषयमा अनुसन्धान भइरहेको वुडगाई प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मोहन कुमार आलेले बताए । वीरगन्ज महानगरपालिका- १७ की वडा अध्यक्ष सुखरानी देवी यादवले आइतबार पत्रकार सम्मेलन गरेर राहत वितरणको विषयलाई लिएर आफू र वडा सदस्यमाथि सर्वदलीय समितिमै रहेकाले गालीगलौज गर्दै दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
छुटटै सर्वदलीय समिति गठन गरेर आ-आफनो मनोमानी तरिकाले राहत वितरण गरेको गुनासो आएपछि शनिबार सोधपुछ गर्न खोज्दा विवाद गरेर गाली गलौज गर्दै दुव्यर्वहार गरेको वडाअध्यक्ष यादवको आरोप छ।
वैशाख १० गते पर्साकै जिराभवानी गाउँपालिकामा पनि राहत वितरणको विषयलाई लिएर स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियो ।राहत वितरणमा ढिला भएपछि आक्रोशमा स्थानीय गाउँपालिका कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा क्रममा एक संचारकर्मीसहित स्थानीय गरी ८ जना घाइते भएका थिए । स्थानीयले गाउँपालिकाका सवारी साधनमा तोडफोड पनि गरेका थिए ।
वैशाख ५ गते पर्साकै छिपहरमाई गाउँपालिका -३ झलमहिया गाउँमा पनि राहत वितरणको विषयमा विवाद भइ झडप हुँदा गाउँपालिकाका एक प्रहरीसहित दुईजना घाइते भएका थिए ।
छिपहरमाई गाउँपालिकाकै वडा नम्बर ४ बन्जारीमा पनि राहत वितरण गर्ने क्रममा स्थानीयले गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको विरोधमा प्रदर्शन गरेका थिए ।
चैत १९ गते वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बरेवा गाउँमा राहत बाँड्ने विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते भएका थिए ।
जिसससँग कुनै समन्वय छैन - सभापति अन्सारी
जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीले पालिकाको गतिविधिको अनुगमन र नियमन गर्ने जिम्मेवारी आफ्नो रहेको भएपनि आफूलाई भूमिकाविहीन बनाइएको गुनासो गरे ।
थुप्रै वडामा राहत वितरणमा विवाद र गुनासो आइरहेको स्वीकार्दै उननले भने, 'राहत वितरणमा तीनै तहका सरकारले हामीलाई बाइपास गरेका छन् , कुनै जानकारी र समन्वय गरिएको छैन। '
पालिकामा जनप्रतिनिधि र सर्वदलीय समितिका सदस्यले आफ्नो मनोमानी गरिरहेको भन्दै उनले भने, 'स्थानीय प्रशासनले पनि जिल्ला समन्वय समितिसँग कुनै समन्वय गरेको छैन, त्यसैले मन खिन्न छ , चाहेर पनि केही गर्न सकेका छैनौ।' 
प्रतिक्रिया दिनुहोस !