विवाह नभएकी सुत्केरीको बिजोग
बझाङ : विवाह नगरेकी युवतीले बच्चा पाएपछि उनको अवस्था दयनीय भएको छ। दुर्थाथली गाउँपालिका ४ मौलाली घर भएकी सुस्त मनस्थितिकी किशोरीले विवाहपूर्व बच्चा पाएपछि समस्या भएको हो।
६ महिना बढी भएपपछि गर्भवती रहेको थाहा पाएकी उनलाई चैनपुरको महिला सेफ हाउसले तीन महिनाअघि उद्धार गरेको थियो। दुई साताअघि उनले चैनपुरस्थित जिल्ला अस्पतालमा छोरा पाएकी छन्। १९ वर्षीया ती किशोरी बच्चा चैनपुरकै महिला सेफ हाउसमा छन्। किशोरीको गाउँकै विद्यालयका २ जना शिक्षक शिवराज जोशी र वसन्त ओलीले ललाई फकाई जबरजस्ती करणी गरेको मुद्दा परेको छ। तर दुवैजना फरार रहेको प्रहरीले जनाएको छ।
अहिले सेफ हाउसले आ श्रय दिँदै आए पनि आमाछोरा दुवैको बिचल्ली हुने हाउसकी मनोसामाजिक परामर्शकर्ता सावित्री थापाले बताइन्। ‘पीडितका बुबाआमाले घर लैजान मानिरहेका छैनन्, कता पठाउने ? कसको जिम्मा लगाउने ? अन्योल भएको छ’, थापाले भनिन्। सेफ हाउसमा बढीमा एक साता मात्र राख्ने प्रावधान छ। कसैले लैजान नमानेपछि हाउसमै राखिएको हो। ‘अब कसलाई बुझाउने भन्ने अन्योल भएको छ’, उनले भनिन्। त्यहाँ सुत्केरीलाई पोषणयुक्त खानपिनको पनि समस्या छ।
बच्चा जन्मेको ११ दिनमा सेफ हाउसमै धार्मिक परम्पराअनुसार न्वारन गरिएको छ। देशमा लकडाउन भएका बेला बच्चा जन्मेकाले उनको नाम ‘लक’ राखेको पनि थापाले बताइन्। बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले अभियुक्तको खोजी भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !