क्लिंकरको कच्चा पदार्थ अभाव
![क्लिंकरको कच्चा पदार्थ अभाव](https://annapurnapost.prixacdn.net/media/albums/tifar-cement-kilkar_20200508052407_hzepVjDMhX.jpg)
बुटवल : अबको एक महिना चुनढुंगाको ढुवानी हुन नसके अर्बौ मूल्यको क्लिंकर आयात गर्नुपर्ने उद्योगीले बताएका छन्। लकडाउनका कारण क्लिंरको कच्चा पदार्थ चुनढुंगाको ढुवानी रोकिएको छ। सरकारले लकडाउनकाबीच पनि सिमेन्ट तथा क्लिंकर उद्योग चलाउने निर्णय गरेको छ।
उद्योग चलाउनुपूर्व कच्चा पदार्थको ढुवानी हुनुपर्ने उद्योगी बताउँछन्। चुनढुंगा खानी जेठ महिनासम्म मात्रै सञ्चालन सकिन्छ। बर्खा लागेपछि असोजसम्म खानी बन्द हुने भएकाले जेठभर ढुवानी अनुमति दिनुपर्ने उद्योगीले बताएका छन्।
नेपालमा दैनिक ६ सयदेखि ६ हजार टन उत्पादन गर्ने १४ र त्यसभन्दा कम उत्पादन गर्ने ७ वटा क्लिंकर उद्योग छन्। यसअघि पनि पर्याप्त ढुवानी नभएकाले उद्योगमा चुनढुंगा को अभाव रहेको छ। जसको पूर्तिका लागि ढुवानी सूचारु गराउनुको विकल्प नभएको उद्योगीले बताएका छन्।
अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्घव कार्कीले चुनढुंगा ढुवानी हुन नसके अर्बौंको क्लिंकर आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने बताए। ‘क्लिङकरमा आत्मनिर्भर भएको मुलुकले फेरि आयात गरेर अर्बौं रकम विदेश पठाउनु हुँदैन’, उनले भने, ‘कच्चा पदार्थ ढुवानी र उद्योग सञ्चालन गरी क्लिंकर उत्पादन गर्नुपर्छ।’
सरकारको निर्णयपछि क्लिंकर र सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारी थालिएको छ। तर सिमेन्ट उत्पादनका लागि क्लिंकर उत्पादन पहिलो सर्त हो। क्लिंकरका लागि चुनढुंगा आवश्यक भएकाले खानीबाट ढुवानी पहिलो काम भएको कार्कीले बताए।
नेपालमा वार्षिक करिव ९० लाख टन क्लिंकर उत्पादन हुन्छ। उद्योगमा अहिले एकाध महिनालाई मात्रै पुग्ने कच्चा पदार्थ छ। चुनढुंगा खानी असोज महिनासम्म सञ्चालन हुन नसक्ने भएकाले जेठभर ढुवानी गर्ने वातावरण मिलाउन उद्योगीले सरकारसँग माग गरेका छन्। यस क्षेत्रमा अर्घाखाँची, सर्वाेत्तम, पाल्पा सिमेन्टलगायतले क्लिंकर उत्पादन गर्छन्। त्यसका लागि पाल्पाका विभिन्न स्थानका आधा दर्जन खानीबाट चुनढुंगा ढुवानी हुँदै आएको छ।
मुलुकका २१ वटा क्लिंकर उद्योगको उत्पादनबाट ६१ वटा सिमेन्ट उद्योग सञ्चालन हुन्छन्। ती सिमेन्ट उद्योगको उत्पादनले भौतिक पूर्वाधारको काम हुँदै आएको छ। चुनढुंगा ढुवानी रोकिए सिमेन्ट उत्पादनसमेत ठप्प भई आयात गर्नुपर्ने अवस्था आउने सजगता उद्योगीले सरकारलाई गराएका छन्।
ढुवानी र उद्योग सञ्चालनका लागि स्थानीय प्रशासनसँग छलफल भएको महाप्रबन्धक कार्कीले बताए। उद्योगीसँगको छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सुरक्षित तरिकाले ढुवानी गर्ने र उद्योग चलाउन दिइने बताएका छन्। पाल्पाबाट ढुवानी गर्नका लागि नवलपरासीसहित तीन जिल्ला प्रशासनको अनुमति चाहिन्छ।
ढुवानीका क्रममा ट्रिपरमा चालक र सहचालकमात्रै बस्ने, मास्क, पञ्जासहित सुरक्षित उपाय अपनाउने र गाडीमा चुनढुंगा ढुवानी लेखेर चलाउन सकिने व्यवसायीले बताएका छन्। ढुवानी रोकिएपछि ट्रिपर व्यवसायीसमेत मारमा छन्। पाल्पास्थित नेसनल मल्टिप्रपोजका प्रबन्धक विष्णुप्रसाद पाण्डेले सुरक्षित तरिकाले कच्चा पदार्थ ढुवानीको अनुमति दिनुपर्ने बताए। ‘लकडाउन अवधिभर गाडी चलेका छैनन्, त्यस अवधिको ब्याज छुट र किस्ता मिति सारिनुपर्छ भन्ने हाम्रो माग छ’, उनले भने। पाल्पा क्षेत्रबाट मात्रै ३ सय ट्रिपरले ढुवानी गर्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)