'लिपुलेकको सीमा समस्या सुल्झाउन सरकार गम्भीर भएन'
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले लिपुलेक घटनाबारे नेपाल सरकारको मौनताप्रति आश्चर्य व्यक्त गरेका छन् । नेपाली भूमि लिपुलेक हुँदै मानवसरोवर जोड्ने सडक भारत सरकाले निर्माण गरी शुक्रबार उद्घाटन गरिसक्दासमेत नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए ।
‘अहिलेसम्म सरकारको आधिकारिक धारणा आएको छैन, त्यसमा पनि जानकारी छैन भनेर सरकारले टार्नु दुर्भाग्य हो,’ उनले भने, ‘यसले नेपाल सरकारको नियत प्रष्ट हुन्छ ।’ पूर्व परराष्ट्रमन्त्री महतले भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको महिनौं हुँदासम्म सरकारले कुटनीतिक पहल नगरेको प्रसंग उल्लेख गर्दै त्यसकै निरन्तता सडक निर्माण भएको दावी गरे ।
‘भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गर्दा पनि कुनै कुटनीतिक पहल गरेन। अहिले सडक निर्माण गरेर उद्घाटन गरिसक्दा पनि सरकार बोल्दैन,’ उनले भने, 'यसमा नेपाल सरकार नै बढी दोषी छ । सीमा समस्या सुल्झाएर नेपालको भौगोलिक अखण्डता जोगाउन सरकार गम्भीर छैन भन्ने उदाहरण लिपुलेक घटनाले छर्लंग भएको छ ।’
सरकारले बोलीमा राष्ट्रवादी देखिन खोजे पनि व्यवहार ठीक उल्टो भइरहेको महतको दावी छ । ‘सरकार जे बोल्छ, त्यो गर्दैन, जुन नारामा चुनाव जिते, त्यसप्रति उनीहरु प्रतिवद्ध न हिजो थिए, न आज छन्, न भोलि हुनेछन्,’ उनले भने । सरकार जनतामा भ्रम छरेर सत्ता टिकाउन लागिपरेको उनको भनाइ छ ।