नेपाली आकाशमा देखिँदै पुच्छ्रेतारा
काठमाडौं : नेपाली आकाशमा यो साता ‘धूमकेतु’ नामक पुच्छ्रेतारा देखिदैछ । बिहान सूर्योदय भन्दा २ घन्टा अघि पूर्वी आकाशमा धूमकेतु देखिने छ ।
एक सातासम्म देखिने यो तारा मंगलबार विहान भने अन्य दिन भन्दा प्रष्टै देखिने खगोलविद् जयन्त आचार्यले बताए । ‘आकाश खुला भएमा एकसातासम्म धूमकेतु देखिन्छ, ३० गते मंगलबार चाहिँ पृथ्वीबाट नजिक हुने भएकाले झनै प्रष्ट देखिदैछ’, उनले भने । खुला आँखाले देख्न सकिने धूमकेतु वाइनाकुलर र टेलिस्कपको सहायताले प्रष्टै नियाल्न सकिने र एक सातापछि पृथ्वीबाट क्रमशः टाढा भएर देखिन छोड्ने आचार्यले बताए ।
यूरोपेली खगोलविद्हरुले गत चैतमा पत्ता लगाएको धूमकेतुको वैज्ञानिक नाम भने ‘कमेट २०२० स्वान’ हो । वैज्ञानिकहरुले यसको चमकपनको मात्रा ३ दशमलव ५ म्याग्नीच्यूट मानेका छन् । यो तारा क्षितिजबाट १५–२० डिग्री माथि सूर्योदय हुनु भन्दा डेढ दुई घन्टा अघि पृथ्वीको सम्पूर्ण भागबाट नियाल्न सकिने बताइएको छ । पृथ्वीको दक्षिणी गोलाद्र्धबाट अझ चम्किलो देख्न सकिने विज्ञहरुको ठहर छ ।
धूमकेतु देखिदा विवाह, व्रतबन्ध, राज्याभिषेक, चूडाकर्म, गृहप्रवेश जस्ता कार्य गर्न शुभ नहुने धार्मिक मान्यता छ । दक्षिणतर्फ देखिने धूमकेतुको फल नराम्रो मान्ने गरिएपनि यो तारा उत्तरपूर्वमा देखिएकाले राम्रो फलदिने मानिएको आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस !